ad ad

समाज


मधेसमा ३ वर्षमा झन्डै ५ सयजनाको डुबेर मृत्यु, प्रदेश र स्थानीय सरकारलाई छैन चासो

मधेसमा ३ वर्षमा झन्डै ५ सयजनाको डुबेर मृत्यु, प्रदेश र स्थानीय सरकारलाई छैन चासो

गीता चिमोरिया
भदौ १०, २०८१ सोमबार २०:३९, काठमाडौँ

गएको शनिबार सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा रहेको राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भयो। 

ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ का ६ वर्षका अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरनजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका हुन्। पोखरीमा डुबेका बालकलाई स्थानीयले तत्कालै निकाले पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

असार २० मा धनुषाको धनौजीमा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु भयो। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनौजी गाउँपालिका ५ बहुअर्वामा नुहाउने क्रममा पोखरीमा डुबेर ११ र १२ वर्षका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनको मृत्यु भएको हो। 

पोखरीमा डुबेका बालबालिकालाई स्थानीयले उद्धार गरेर अस्पताल लैजाने क्रममा एकजनाको बाटैमा र दुईजनाको अस्पताल पुगेपछि मृत्यु भएको थियो। 

यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन्। प्रहरीको तथ्यांक हेर्ने हो भने मधेस प्रदेशमा वर्षेनि डुबेर मृत्यु हुनेको संख्या डरलाग्दो छ। 

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सयौँको संख्यामा डुबेर मानिसहरूको मृत्यु हुने गरेको छ। 

प्रदेश प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा मधेस प्रदेशमा पोखरी, खाडल, खोला, इनार तथा पानी थापेर राखिएका भाँडाहरूमा समेत डुबेर मृत्यु हुने गरेको बताउँछन्। 

पछिल्लो तीन वर्षको प्रहरी तथ्यांक अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी मधेस प्रदेशका आठ जिल्लामा झन्डै पाँच सय मानिसको डुबेर मृत्यु भएको छ।  

डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै बालबालिका छन्। 

मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेशका ८ जिल्लामा २०६ जनाको डुबेर मृत्यु भएको छ। जसमा १०९ जना बालबालिका रहेका छन्। ७६ जना पुरुष र २१ जना महिलाको डुबेर मृत्यु भएको छ। 

तथ्यांक हेर्दा सबैभन्दा धेरै धनुषामा ३६ जना पुरुष र सिरहामा २५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ। 

आर्थिक वर्ष २०७९/०८० मा यो तथ्यांक केही घटेको देखिएको छ। यस वर्ष ६५ जना बालबालिकासहित डुबेर मृत्यु हुनेको संख्या १०५ छ। 

अघिल्लो वर्षभन्दा यो वर्षमा घटना कम हुनुको कारणबारेको जिज्ञासामा प्रहरी उपरीक्षक बोहोराले भने, ‘किन कम भयो होला भन्दा त्यो वर्ष पानी कम आएको हुनसक्छ या त खाल्टाहरू कम खनिएको हुन सक्छ। ठ्याक्कै यो कारण हो भनेरचाहिँ यस विषयमा अध्ययन भएको छैन।’

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा डुबेर मृत्यु हुनेको संख्या बढेको छ। आ.ब. २०८०/०८१ को असार (२० गते) सम्म १७० जनाको डुबेर मृत्यु भएको छ। ११३ बालबालिका, ४३ पुरुष र १४ जना महिलाको मृत्यु भएको छ। 

डुबेर मृत्यु हुने घटनाको वार्षिक तथ्यांक हेर्दा बालबालिकापछि सबैभन्दा धेरै पुरुषहरू यस्ता घटनामा परेको पाइएको छ। तुलनात्मक रुपमा महिलाको संख्या कम छ। आर्थिक वर्ष २०७८/०७९ मा ५ जना, २०७९/०८० मा १ जना र २०८०/०८१ मा ११ जना डुबेर घाइते भएका छन्। 

वर्षेनि सयौँको मृत्यु तर छैन अध्ययन र न्यूनीकरणका प्रभावकारी कार्यक्रम 
निर्माणका लागि खनेका खाल्डाहरू, खोलाबाट गिटीबालुवा निकालेर बनेका खाडल, बाटो तथा कुलो निर्माणका लागि खनिएका खाल्डा, पोखरीमा डुबेर मानिसहरूको मृत्यु भइरहेको छ। 

प्रहरी उपरीक्षक बोहोराले भने, ‘बाटो बनाउँदाखेरी खाल्डो खनेर छोड्दिने अनि त्यसमा पानी जमेको हुन्छ, पानी जमेपछि बच्चाहरू डुब्ने घटना भइरहेको छ। साना केटाकेटीहरू पोखरीमा नुहाउन जाँदा पनि डुब्ने गरेको घटना धेरै छ। खोलामा पनि डुबिराखेका हुन्छन्।’ 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले चलाएको सचेतनाको कार्यक्रमबाहेक यसबारेमा सरकारले गम्भीरताका साथ अध्ययन गरेर न्यूनीकरणका अभियानहरू चलाएको पाइँदैन। 

‘प्रदेश प्रहरीले नेपाली भाषा र यहाँको स्थानीय भाषामा जिङ्गलहरू (सचेतनाका सन्देश) बनाएर चोकचोकमा बजाउँछौँ, स्थानीय सञ्चारमाध्यममार्फत् पनि यस्ता सन्देशहरू प्रसारण हुन्छ, फ्लेक्स बनाएर चोकचोकमा टाँस्छौँ, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत टोलटोलमा गएर पनि बालबालिकाको विशेष ध्यान दिऔँ, बर्खा लागेपछि यस्ता घटना बढ्नसक्छ भनेर सचेत गर्ने काम गरिरहेका छौँ,’ बोहोराले भने। 

प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय सरकार तथा प्रदेश सरकारका कुनै पनि निकायले यस्ता घटना कम गर्नका लागि के गर्न सकिन्छ भनेर चासो राखेको वा प्रहरीसँग छलफल गर्ने गरेको छैन। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल प्राधिकरणले अघिल्लो दुई वर्षमा कुन प्रदेशमा यस्ता घटना बढी भइरहेको छ भन्ने विषयमा छलफल गरेको बताउँछन्। 

पोखरेलले भने, ‘यो विपद् नै हो। मानवीय मृत्यु हुनेबित्तिकै विपद् मानिन्छ। तथ्यांक हेर्दा यो बढ्दो क्रममा छ।’

उनले जिल्लामा सीडीओ कार्यालयलाई परिपत्र गरिएको पनि जानकारी दिए।

‘निर्माणका काम गर्ने ठेकेदारहरू हुन्छन्, दुई खालका काम गर्नुपर्ने हुन्छ,’ पोखरेलले भने, ‘एउटाचाहिँ गिटी बालुवा उठाउने क्रममा नयाँ खाल्टो बनाउँछन्। अर्कोचाहिँ कुलोहरू बनाउने, पुलहरू बनाउने कामहरू भइरहेको हुन्छ। अघिल्लो दिन त्यही ठाउँमा खनेको हुँदैन। भोलिपल्ट खाल्डा हुन्छ, मान्छेलाई थाहा हुँदैन, त्यहाँ पर्छन्। त्यसकारण मुख्य गरेर निर्माणको काम भइरहेको ठाउँमा जानकारी दिनुपर्छ।’

यस्ता घटना रोक्न परिवारको ठूलो भूमिका हुने उनी बताउँछन्।

‘आफ्ना बच्चाहरू कहाँ गए? पौडी खेल्न आउँछ कि आउँदैन? त्यस्तो ठाउँमा जान दिन हुन्छ कि हुँदैन? शिक्षकहरूले, अभिभावकहरूले बढी ख्याल गर्न सकियो भने यस्ता घटना कम गर्न सकिने हुँदोरहेछ भन्ने महसुस भएको छ,’ पोखरेल भन्छन्, ‘तारबार लगाउने विषयमा हामीले कतिपय ठाउँहरूमा भनेका पनि छौँ तर त्यसले मात्रै पर्याप्त नहुने रहेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .