ad ad

राजनीति


‘हेडक्वार्टर’को कान्ति र शान्ति खोस्ने जनार्दनसँग कसरी लेलान् प्रचण्डले बदला?

‘हेडक्वार्टर’को कान्ति र शान्ति खोस्ने जनार्दनसँग कसरी लेलान् प्रचण्डले बदला?

सीताराम बराल
भदौ ११, २०८१ मंगलबार ९:२१, काठमाडौँ

शान्ति प्रक्रिया अघि–पछि माओवादीमा मोहन वैद्य (किरण), डा. बाबुराम भट्टराई, रामबहादुर थापा (बादल) जस्ता जो–जोबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चुनौती महसुस गर्थे, ती कोही पनि नेता अहिले माओवादी केन्द्रमा छैनन्।

एकपछि अर्का समकालीन नेताहरूको बहिर्गमनपछि बुढ्यौली र रोगले शरीरलाई घ्यारघ्यार नपारुञ्जेल पार्टीमा आफ्नो नेतृत्व अकण्टक रहने सोचेका थिए सायद प्रचण्डले। तर, उनले सोचेजस्तो भइदिएन।   

माओवादीभित्र दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) को चुनौती अध्यक्ष प्रचण्डले सामना गर्नु परेको छ। माओवादीको पछिल्लो स्थायी समिति बैठक (२५–२९) मा शर्माले पेस गरेको लिखित प्रस्तावपछि प्रचण्ड साँच्चिकै पार्टीभित्र अप्ठेरोमा परेका छन्।  

यसअघि प्रचण्डलाई ज–जसले चुनौती दिन्थे, त्यो चुनौती कि पार्टीभित्र ‘नयाँ एकता’ को नाममा ‘प्रचण्ड शरणम्’ मा परिणत हुन्थ्यो। कि चुनौती दिनेहरू पार्टी नै छाडेर प्रचण्डलाई ‘एकल हैकम’ को अवसर प्रदान गरी पार्टीबाट बिदा हुन्थे।  

तर, यसपटकको स्थिति अलिक फरक देखिन्छ। शर्माले पार्टीभित्र विधि–पद्धतिका लागि अन्तिमसम्म संघर्ष जारी राख्ने अठोट लिएका छन्। जस्तोसुकै प्रचण्ड–भुक्तमान बेहोर्नुपरे पनि पार्टी नछाड्ने अडान लिएका छन्। 

यो जब्बर अडानसँगै प्रचण्डले अब शर्माप्रति कस्तो व्यवहार गर्लान्, यो यतिबेला जिज्ञासाको विषय बनेको छ। यसर्थ कि, ६ महिनाअघि पनि शर्मा आफूप्रतिकूल गएको विश्वास हुनासाथ प्रचण्डले उनलाई महत्त्वपूर्ण जिम्मेवारीबाट हटाएर ‘दण्डित’ गरिसकेका छन्। 

‘हेडक्वार्टर’मा न कान्ति, न शान्ति  
२६ साउनको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पेस गरेको लिखित प्रस्तावविरुद्ध प्रचण्डले विष–वमन त गरिहालेका छैनन्। तर, त्यो प्रस्तावलाई सहज रूपमा लिएका पनि छैनन् भन्ने कुरा उनको ‘बडी ल्याङ्ग्वेज’बाट अनुमान गर्न सकिन्छ। 

प्रचण्डकै भाषमा भन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १६ मध्यरातमा ‘नर्क र स्वर्ग सँगसँगै जाने हो’ भनेर भोलिपल्ट प्रचण्ड–सत्ताको ‘पिठ्युँमा छुरी धसेका थिए’। ओलीको यस्तो धोकाधडीका कारण प्रचण्ड केही दिन बेचैन अवश्य भए, उनको अनुहार हप्ता दिनभन्दा बढी अँध्यारियो। 

तर, प्रधानमन्त्री पदबाट हट्ने दिन (२८ असार) सम्म उनले आफूलाई गजबसँग सम्हालिसकेका थिए।

विश्वासको मत लिने क्रममा २८ असारमा प्रतिनिधि सभाको बैठकमा उनको सम्बोधन प्रचण्डले आफूलाई सम्हालिसकेका छन् भन्ने कुराको प्रमाण थियो। 

उनले विश्वासको मत पाउँदैनन् भन्ने प्रष्ट थियो। यति हुँदाहुँदै पनि रोचक पक्ष चाहिँ सत्ताबाट बाहिरिँदै गर्दा प्रचण्डमा देखिएको विजयीभाव थियो। रास्वपा र एकीकृत समाजवादीजस्ता साना दलको मात्र समर्थन पाएका प्रचण्ड आक्रामक थिए, बाँकी सबैजसो दलको समर्थनमा सत्ताको भर्‍याङ उक्लँदै गरेका कांग्रेस–एमाले रक्षात्मकजस्ता देखिन्थे। ‘प्रचण्डले हामीलाई खेलाई–खेलाई गठबन्धन फेरिरहे’ भन्नेबाहेक सरकार परिवर्तन गर्नु पर्नाको कारण के हो भन्ने अर्काे तार्किक जवाफ उनीहरूसँग थिएन। 

त्यो ‘विजयभाव’ प्रचण्ड सत्ताबाट हटेयताका विभिन्न कार्यक्रमहरूमा पनि देखिन्थ्यो। 

२२ साउनमा विराटनगर पुगेर उनले सरकारबाट आफूहरूको बहिर्गमन ‘हारको होइन, जितको हो’ भनेका थिए। २३ साउन (हुम्ला काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलन) मा अहिले अवसर पाए पनि आफू प्रधानमन्त्री नबन्ने बताउँदै ‘२०८४ को चुनावमा बहुमत ल्याएरमात्र प्रधानमन्त्री बन्छु’ भनेका थिए।  

सानो दल, त्यसमाथि (आफूविरुद्ध) दुई ठूला–ठूला दलबीचको गठबन्धन। यस्तोमा सत्ता गठबन्धन आक्रामक र प्रचण्ड रक्षात्मक देखिनुपर्ने हो। तर, उनी आक्रामक नै देखिए। यो  माहौललाई अझ बढाउन सके अनुकूल स्थिति बनाउन सकिन्छ भन्ने प्रचण्डलाई लागेको हुँदो हो।     

तर, स्थायी समितिको बैठक चलिरहँदा दोस्रो दिन, २६ साउनमा शर्माले आकस्मिक रूपमा लिखित प्रतिवेदन पेस गरे, जसले परिस्थितिमा एकाएक बदलाव ल्याइदियो। 

केन्द्रदेखि प्रदेशसम्मको सत्ता एकाएक किन गुमाउनु पर्‍यो भन्नेमात्र होइन, पटक–पटक भइरहेको पार्टी विभाजन, चुनावमा लगातार कमजोर प्रदर्शनको कारण पनि पार्टी नेतृत्वसँग खोजेका छन् शर्माले। पार्टीको ह्रासोन्मुख स्थितिको मुख्य जिम्मेवार अध्यक्ष प्रचण्ड भएको संकेत गरेका छन् र यिनै कुरालाई आधार बनाएर नेतृत्व हस्तान्तरण–बहसको सुरुवात पनि गरेका छन्।

बाह्य मञ्चहरूमा आक्रामक देखिएका प्रचण्ड शर्माको लिखित प्रस्तावपछि आन्तरिक रूपमा रक्षात्मक बनेका छन्। पार्टीभित्रै रक्षात्मक बन्नु परेपछि बाह्य राजनीतिमा उनी आक्रामक बन्न नसक्नु स्वाभाविक हो। 

प्रचण्डलाई नजिकबाट बुझेकाहरू भन्छन्, २६ साउनमा शर्माले लिखित प्रस्ताव पेस गरेयता प्रचण्डको अनुहारबाट कान्ति हराएको छ, उनको हृदयबाट शान्ति पनि गायब भएको छ।  

शर्माले प्रचण्डप्रति प्रश्नमात्र उठाएका छैनन्, वैद्य, डा. भट्टराई, विप्लवहरूले जस्तो पार्टी छाडेर नजाने, बरु अन्तर्संघर्षमार्फत् पार्टीलाई रूपान्तरित गरिछाड्ने अठोट पनि लिएका छन्। 

‘कला’सहितको बदलाको प्रतीक्षा
नेपाली राजनीति बदलै–बदलाले ग्रस्त छ। बदलाको राजनीतिमा प्रचण्डपनि कम छैनन्। सत्ता–राजनीतिमा बेलाबखत ओली–देउवाको बदलाको सिकार बनेका उनले मौका पाएका बेला यी दुवै (ओली–देउवा) सँग गतिलैसँग बदला लिएका पनि छन्।   

प्रचण्डको बदलाबाट अहिले उनलाई चुनौती दिएका उपमहासचिव जनार्दन शर्मा पनि अछुतो छैनन्। 

फागुन (२०८०) सम्म शर्मा माओवादीको बागमती प्रदेश इञ्चार्ज थिए। तर, प्रचण्डले यति कलात्मक रूपमा बदला लिइदिए, फागुन (२०८०) अन्तिम साताको स्थायी समिति बैठकबाट शर्माको शिरमा रहेको बागमती प्रदेश इन्चार्जको ताज खोसियो।  

बागमती केन्द्रीय राजधानी रहेको प्रदेश हो। माओवादी भाषामा भन्ने हो भने, पार्टीको ‘हेडक्वार्टर’ (अध्यक्ष प्रचण्ड) पनि कार्यक्षेत्रमा रहन्छन्। मुख्य नेतृत्व यही भूगोलमा रहने भएकाले बागमती प्रदेश माओवादीका लागि सर्वाधिक महत्त्वको क्षेत्र हुने भइहाल्यो। 

यस्तो महत्त्वपूर्ण कार्यक्षेत्रको जिम्मेवारीका लागि ‘पार्टी हेडक्वार्टर’ ले उपमहासचिव शर्मालाई छान्यो। अध्यक्ष प्रचण्डकै प्रस्तावमा उपमहासचिव शर्मा गत साल (२०८०) साउन अन्तिम साता बसेको स्थायी समितिको बैठकबाट प्रदेश इन्चार्ज बनाइए। 

हुन त, उपमहासचिव शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी पनि थियो। तर पार्टी विधान अनुसार संगठन विभाग प्रमुखभन्दा महासचिव देव गुरुङ शक्तिशाली थिए, अहिले पनि छन्। 

त्यसैले, शर्माले पाएको संगठन विभागको नेतृत्व भन्दा बागमतीको नेतृत्व बढी महत्त्वपूर्ण थियो। 

गत फागुन (१–३) मा माओवादीले पहिलो विधान अधिवेशन गर्‍यो। विधान अधिवेशनमा पार्टी अध्यक्ष लगायत पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्छ भन्ने माग जोडदार रूपमा उठ्यो। यस्तो माग गर्नेमध्येका अग्रणीमा उपमहासचिव शर्मा पनि थिए। 

‘अध्यक्ष पनि प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्छ’ भन्ने माग ‘पार्टी हेडक्वार्टर’ लाई मन पर्ने कुरा थिएन। आफूले विश्वास गरेर महत्त्वपूर्ण प्रदेशको इन्चार्ज बनाएका शर्माले आफूलाई धोका दिएको महसुस प्रचण्डले गरे। 

त्यसपछि शर्मासँग बदला लिने उपायको खोजी सुरु भयो। यसमा महासचिव देव गुरुङ पक्षको साथ प्रचण्डले पाए। गुरुङको साथ पाउन प्रचण्डलाई किन सहज भयो भने उनलाई (गुरुङ) महासचिव बनाइँदा शर्मा असन्तुष्ट थिए। बागमतीका गुरुङपक्षीय नेताहरूलाई अघि सारेर शर्मालाई बागमती इन्चार्जबाट हटाउने माग सुरु भयो। 

शर्मालाई बागमतीबाट हटाउन अर्काे उपाय पनि अवलम्बन गरियो। शर्मा पश्चिम रुकुमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनलाई बागमतीको इन्चार्जबाट हटाउन निर्वाचित सांसद भूगोलको इन्चार्ज बन्न नपाइने आन्तरिक कार्यविधि बनाइयो। 

यही कार्यविधि अनुसार १६ फागुन (२०८०) को स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरू परिवर्तन गर्‍यो। विधान महाधिवेशन भएको दुई हप्ता पनि नबित्दै उपमहासचिव शर्मा बागमती इन्चार्जबाट मुक्त गरिए।  

उपमहासचिव शर्माले सम्हाल्दै आएको बागमती इञ्चार्जको जिम्मेवारी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पाए। उापध्यक्ष सापकोटा विधान महाधिवेशनमा पार्टी पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्ने प्रस्तावको खिलाफमा थिए।  

शर्माको ‘गल्ती’ थियो, उनी पदाधिकारीहरू प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा उभिए। यति सानो गल्ती गर्दा पनि प्रचण्डले बदला लिन बाँकी राखेनन्।

अहिले त उनले अझ ‘उपल्लो स्तरको गल्ती’ गरेका छन्। माओवादीको नाजुक हबिगतको मुख्य दोषी प्रचण्डलाई किटान गरेका छन्। वैद्य र डा. भट्टराईले जसरी पार्टी प्रचण्डलाई बुझाएर नहिँड्ने, बरु अन्तिमसम्म अन्तर्संघर्ष गरिरहने अडान लिएका छन्।

शर्माको लिखित प्रस्ताव र यस्तो अडानपछि प्रचण्ड पार्टीभित्र–बाहिर दुवैतिर प्रतिरक्षात्मक देखिएका छन्। उनको अनुहारको कान्ति हराएको छ, हृदयबाट शान्ति गायब भएको छ। 

यसै प्रसङ्गमा माओवादीभित्र खासखुस सुरु भएको छ– विधान महाधिवेशनपछि बागमती इन्चार्ज खोसेर हेडक्वार्टरले उपमहासचिव शर्मासँग बदला लिएको थियो, यसपटक अझ बढी अप्ठेरोमा पारेकाले यसपटक हेडक्वार्टरले कस्तो र कसरी बदला लिन्छ होला!  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .