समाज


बारा प्रहरीलाई जब चारजना ‘सार्प सुटर’ नेपाल प्रवेश गरेको सूचना आयो...

बारा प्रहरीलाई जब चारजना ‘सार्प सुटर’ नेपाल प्रवेश गरेको सूचना आयो...

बारा प्रहरीले गोली हानेर पक्राउ गरेका ‘सार्प सुटर’ सुजितकुमार सिंह


नेपालखबर
पुस ११, २०८० बुधबार ७:२८, काठमाडौँ

बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ।

भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। 

‘सार्प सुटरको रुपमा चिनिएका सुजितकुमार सिंहकाे समूह नेपाल प्रवेश गरेकाे छ। उनीहरुले बारामा जुनसुकै घटना घटाउन सक्छन् भन्ने सूचना हामीलाई प्राप्त भएपछि हामी उनीहरुको निगरानीमा लागेका थियौँ,’ डीएसपी न्यौपानेले नेपालखबरसँग भने, ‘मंगलबार राति आठ बजे विश्रामपुर गाउँपालिका-३ मा हाम्रो टोलीसँग उनको समूहको भेट भयो। उनीहरु चार जनाको संख्यामा थिए। त्यसमध्येका मुख्य नाइके सिंहलाई हामीले पक्राउ गरेका छौँ। अरु तीन जना फरार भएका छन्।’

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिइएको डीएसपी न्यौपानले बताए। उनको खुट्टासहित शरीरका विभिन्न भागमा गोली लागेको प्रहरीले जनाएको छ। 

‘पक्राउपछि हामीले उनलाई राति नै उपचारको लागि कलैया अस्पतालमा भर्ना गरेका छौँ, उनी खतरामुक्त छन्,’ डीएसपी न्यौपानले भने। 

उनीमाथि बारा र रौतहटमा भएका हत्या घटनाका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ। ‘उनी धेरै हत्यामा जोडिएका पात्र हुन्, हामी थप अनुसन्धान गरिरहेका छौँ,’ न्यौपानेले भने, ‘उनको समूहका अरु फरार अभियुक्तहरुको पनि खोजी भइरहेको छ।’

उनका साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसमेत बरामद गरेको छ।

गएको कात्तिक दोस्रो साता कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा पनि सिंहकै समूह संलग्न भएको दाबी प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad