समाज


जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए...

२० प्रहरीसहित ३ सय स्थानीय अपहरितको खोजीमा परिचालन भएपछि खुल्यो रहस्य
जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए...

नेपालखबर
भदौ १८, २०८२ बुधबार १३:१७, गुल्मी

मंगलबार बिहान करिब १०ः३० बजे गुल्मीकाे मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गरेर विद्यार्थी अपहरणमा परेकाे सुनाए।

‘तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन्। आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन?’ फाेन गर्नेले भने। त्यतिबेला विद्यालयमा मिटिङ चलिरहेको थियो। शिक्षक भुसालले यो विषय मिटिङमा जानकारी गराए। त्यसपछि विद्यालयका चार जना शिक्षक घटना भएको भनिएको ठाउँ ककेदेउराली नजिकै पुगे।

शिक्षकले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देखे। 

विद्यार्थीले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपरहरण गरेको बताए। त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षक बोलाए । शिक्षक घटनास्थलमा पुग्दा पनि विद्यार्थीहरू रुने, काम्ने तथा डराउने गरिरहेका थिए। त्यसै विद्यालयका कक्षा ४ मा पढ्ने विद्यार्थी अपहरणमा परेको कुरा अन्य विद्यार्थीले बताएपछि सबै मिलेर विद्यार्थीको खोजीमा लागे।

करिब आधा घण्टापछि एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए । प्रहरी, विद्यालय र स्थानीयलाई अबको चुनौती अपहरणकारी खोज्नु थियो। बालक अपरहणमा परेको सूचना छिनभरमै राष्ट्रियस्तरमा मिडियमा फैलियो। पहाडी इलाकामा विद्यार्थी अपहरणमा पर्नु निकै दुर्लभ घटना मानिन्छ। अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायत ठाउँका छ समूहमा २० जना प्रहरी खटिए। 

त्यसैगरी विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका करिब १५० जना छात्रहरू, स्थानीय, पालिकाका कर्मचारी गरी करिब ३०० भन्दा बढी नागरिक अपरहरणकारी खोज्नका लागि परिचालन भए। 

घटनाका विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकले विद्यार्थीलाई छुट्टछुट्टै सोधखोज गरिरहेका थिए। आठैजना विद्यार्थीले घटनाका विषयमा फरकफरक तर्क गरेपछि प्रहरीलाई घटनाका विषयमा शङ्का लाग्न थाल्यो। पछि बुझ्दै जाँदा विद्यार्थीले गृहकार्य नगरेका कारण अपहरणमा परेको बाहाना बनाएको खुलासा भयो। 

‘पहिले बालक पत्ता लगाउन र त्यसपछि अपहरणकारी पत्ता लगाउनुपर्ने दबाब आयो’, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारु भने, ‘साना बालबालिकाले यसरी बहाना बनाउलान् भन्ने सोच नै आएन।’

उनले पत्रकार प्रेम सुनारबाट घटनाको जानकारी आएपछि जिल्लाभित्र र छिमेकी जिल्लाका प्रहरीमा समन्वय गरेको बताए। विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटनाबारे विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको जानकारी दिए। 

‘सुरुमा सबैलाई डर भयो, दिनभर पढाइ पनि भएन’, उनले भने। प्रधानाध्यापक क्षेत्रीले भनभनेबाट आठ जना विद्यार्थी पुर्कोट दहमा पढ्न आउने र उनीहरूमध्ये कक्षा ५ मा पढ्ने छात्रा आयुष्मा ताम्राकारले अपहरणको योजना बनाएको बताए।

उनीहरूको योजनाबद्ध रूपमा अपहरणको बहाना बनाएको थाहा पाएपछि विद्यार्थीलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ। बुधबारदेखि विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad