समाज


महिला उद्यमी सरु केसीको निधन

महिला उद्यमी सरु केसीको निधन

सुमन सुस्केरा
जेठ १०, २०८३ आइतबार १२:३३, विराटनगर

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश समितिकी निवर्तमान कार्यसमिति सदस्य तथा महिला उद्यम विकास समितिकी सभापति सरु केसीको निधन भएको छ।

लामो समयदेखि मिर्गौला सम्बन्धी समस्या झेल्दै आएकी केसीको गए राति निधन भएको परिवारजनले बताएका छन्। केसी सेतो गुराँस बाल विकास सेवा मोरङको अध्यक्ष समेत रहेकी थिइन्।

उनी महासङ्घ प्रदेश समितिको दुई कार्यकाल सदस्य चयन भएकी थिइन् । साथै, घरेलु तथा साना उद्योग महासङ्घको सल्लाहकार समेत थिइन्।

विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र हैनन् एक उद्यमी महिला पनि हुन् । उनका बुबा पहिल्यैदेखि नै व्यवसायी थिए । कक्षा १० मा पढ्दादेखि व्यवसाय गर्नुपर्छ भन्ने सिकेकी उनी घरमा बुबालाई सघाउने काम गर्थिन्।

उनका बुबा बैँकका जागिरे थिए। बैङ्कको म्यानेजरको जागिर छाडेर उद्योगमा लगानी गरेपछि उनलाई पनि उद्यमबाट नै फाइदा हुने रहेछ भन्ने लाग्यो । उनी बुबालाई उद्योगमा सहयोग त गर्थिन नै । त्यो बाहेक आफैले पनि केही गर्नुपर्छ भन्ने लागेर सिलाई कटाई गर्ने, हस्तकला तथा शिल्पकला सम्बन्धी आफैले केही गर्नुपर्ने रहेछ भनेर सिक्न थालिन्।

कसैले लगाएको राम्रो स्वेटर, कुस्र्यो, टिम्याट, झालरलगायतका जे देख्यो त्यही उनलाई बनाउन मन लाग्थ्यो । अनि घरमा आएर बनाउन थालिहाल्ने स्वभाव थियो उनको । आफूले सिकेको सीप एकातिर थियो भने अर्कोतर्फ घरको फ्याक्ट्री चलाउनको लागि उनले खेल्नु पर्ने भूमिका । कलकत्तादेखि कालिगड ल्याउनु पर्ने, आवासीय व्यवस्था गर्नुपर्ने यी सबै काममा केसीले बुबालाई सहयोग गर्दै आएका थिइन्। त्यो बेला २–३ वटा मात्र देशभरिमा स्टील्स उद्योग थिए । पूर्वमा उनका बुबाले चलाएको ‘जय दुर्गे आइरन’ नै पहिलो स्टील्स् उद्योग भएको उनी दाबी गर्थिन्।

बिहेपछि जेलिएको जीवन
विवाह गर्नुभन्दा पहिला नै उद्योग कसरी चलाउने भन्ने सबै जानी सकेकी थिइन्।  एसएलसी दिएपछि २ घण्टा कम्प्युटर पढ्ने समयबाहेक सबै समय घरकै उद्योगमा समय दिन्थिन्। आईकम पास गरेर बि।कम पढ्दापढ्दै सिरहाको सुखिपुरका उद्धव केसीसँग सरुको विवाह भयो।

उनका श्रीमान् वकिल थिए। विराटनगरमा हुर्केकी बढेकी अनि पढेकी सरुको लागि सिरहाको विवाह निक्कै नै कष्टपूर्ण भयो । बिहे त गरिन् तर, उनलाई त्यहाँ बस्नै मन लागेन । बाहिरी खुल्ला संसारमा रमाएकी सरुका लागि त्यहाँ घुम्टोभित्र बस्नुपर्ने बाध्यता आइलाग्यो।

उनी कतिन्जेल घुम्टोमा बस्ने उनलाई निक्कै नै सकसपूर्ण जीवनबाट बाहिरिन खोज्थिन् । उनले आफ्नो श्रीमान्लाई सिरहाबाट विराटनगरमै बसौँ भन्न थालिन् । केही उद्यम गरेर जीवन गुजारा गरौँ भन्ने सल्लाह भयो । श्रीमान् वकिल भएकोले अदालतमा जाने अनि आफू बालबच्चा हुर्काउने सोचमा आएका उनीहरूको केही वर्ष निक्कै नै सङ्घर्षपूर्ण भयो।

श्रीमानको वकिल व्यवसाय पनि चलेन, कोठा भाडा तिर्नै समस्या हुन थालेपछि आम्दानीको श्रोतका लागि फेरी उनले बुबालाई सहयोग गर्न थालिन् । बुबालाई सहयोग गर्दा गर्दै उनले बालबालिकाको क्षेत्रमा काम गर्न थालिन्।

उनले बुबाले सञ्चालन गर्दै आएको फ्याक्ट्रीमा काम गर्दै छोराछोरी पढाउने काम गर्न थालिन् । उनका श्रीमान् त्यही बिचमा अमेरिका हानिए । त्यही पनि दुई छोरीलाई हुर्काई बढाइन र पढाउने आफ्नो अभिभारा पनि उनले पूरा गर्दै गइन्। त्यही बिचमा उनको बुबाको निधन भयो । अनि उनले ‘विराट फुड प्रोडक्स’ ४ जनाको साझेदारीमा हेल्थ फुड उद्योग सञ्चालन गर्न थालिन्। उनलाई त्यसबाट पनि राम्रै फाइदा भएको थियो । साथीभाइसँग कुरा नमिलेपछि त्यो उद्योग बन्द गरिन्। 

विराट फुड प्रोडक्स बन्द भएपछि उनले फेरी न्युटी केयर फुड प्रोडक्समा व्यक्तिगत लगानी गरिन् । त्यस्तै उनले आस्था कृषि औजारसमेत सञ्चालनमा ल्याइन् । आस्था कृषि औजार उद्योग बुबाको निधनपछि उनले भाइ र बुहारीसँग साझेदारी गरेकी थिइन्। उनले सामाजिक रूपमा सेतो गुराँस बाल विकास सेवामा अध्यक्षको रूपमा भूमिका खेल्दै बालबालिकाको क्षेत्रमा २ दशक बढी समयसम्म निरन्तर गर्दै आएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad