झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको रहस्यमय ढंगले मृत्यु भएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ।
अर्जुनधारा नगरपालिका-८, कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमपट्टि रहेको खुल्ला चौरमा भएको उक्त घटनामा सोही स्थानकी २९ वर्षीय काजल बस्नेत सुवेदीको मृत्यु भएको थियो।
मृतकका श्रीमान् हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको बुझिएको छ। घटना सोमबार राति साढे ९ बजेतिर भएको हो।
अत्यधिक मदिरा पिएका अर्जुनधारा-५, कञ्चनबारीका २४ वर्षीय किरण गौतम र मृतक काजल बस्नेतबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार विवादका क्रममा गौतमले काजललाई धकेल्दा चौरको बीचमा सीमानाकाका लागि बनाइएको कङ्क्रिटको पिलरमा ठोक्किएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
टाउकोमा चोट लागेर बेहोस भएकी काजललाई स्थानीयवासीले फेला पारी तत्काल उपचारका लागि स्थानीय शंकर अस्पताल पठाएको प्रहरीले जनाएको छ। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल हुँदै भद्रपुरको प्रादेशिक मेची अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतककी दिदी प्रतिमा भट्टराईले हत्याको आरोपमा किरण गौतमविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएकी छन्।
घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले गौतमलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले आरोपी गौतमलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि आजै (मंगलबार) झापा जिल्ला अदालतमा उपस्थित गराएको छ।
अदालतबाट पहिलो पटकका लागि पाँच दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार हत्याको घटनामा अत्यधिक मदिरा सेवन मुख्य कारण देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न युवा र युवतीबीच निकै नजिकको सम्बन्ध रहेको र घटना भएको दिन उनीहरू दुवैले अत्यधिक मात्रामा मदिरा सेवन गरेका थिए।
मदिराको नशाका कारण बिहानसम्म पनि होसमा आउन नसकेका उनीहरूबीच आपसमा विवाद हुँदा धकेलाधकेल भएको र सोही क्रममा टाउकोमा गम्भीर चोट डीएसपी खड्काले बताए।

प्रतिक्रिया