ताप्लेजुङमा नमोर नदीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल (बेलिब्रिज) आज बिहान ६ बजे बाढीले बगाएको हाे।
चार वर्षअघि पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बाढीले बगाएको हाइड्रो पावरका प्रबन्धक मुकुन्द पोख्रेलले जानकारी दिए।
अविरल वर्षापछि बुधबार बिहान तमोर, घुन्सा र हेल्लोक खोलामा ठूलो बाढी आएको छ। वर्षासँगै लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको छ। त्यहाँका स्थानीयले भागेर ज्यान जाेगाएका छन्।
बेलिब्रिज बाढीले बगाएपछि त्यस क्षेत्रमा सवारी साधनसँगै पैदल आवतजावतमासमेत समस्या भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। त्यस क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाे छ।
अरुण आसपासका क्षेत्रमा सतर्कता
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए।
माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताइ।
उक्त क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराइएको हो।
Shares

प्रतिक्रिया