समाज


५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

नेपालखबर
असार १५, २०८२ आइतबार ८:६, काठमाडौँ

मोरङको धनपालथान गाउँपालिका–५ बबिया पाँच वर्षीया बालिकाको हत्या भएको छ। 

शुक्रबार रातिदेखि नै हराएकी बालिकाको शव स्थानीय दुर्गा आधारभूत विद्यालयअगाडि सडक छेउमा फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। उनी शुक्रबार राति हजुरआमासँग सुतेकी थिइन्। 

शनिबार बिहान करिब ३ बजे हजुरआमाले नातिनी बेपत्ता भएको थाहा पाएपछि हल्ला सुरु भएको थियो।

गाउँभर बालिका चोरी भएको हल्ला फैलियो। छरछिमेक जुटेर खोजी गर्दा बिहान साढे ४ बजे घरदेखि करिब १५० मिटर टाढा दुर्गा आधारभूत विद्यालयअगाडि सडक छेउमा बालिकाको शव फेला परेको हो।

मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार बालिकाका बुबा अक्षय सरदार घर बनाउने मिस्त्री हुन। उनकी श्रीमती पनि सँगै मजदुरी गर्छिन। शुक्रबार अक्षय सालोसँग भारतको कटिहार गएका थिए भने आमा माइतीघर गएकी थिइन्।

घरमा उनी, उनका दुई दिदीभाइ, काका र हजुरआमा मात्रै थिए। 

आत्तिका हराएपछि गाउँभरि बच्चा चोरीको हल्ला चल्यो। झिसमिसेमै गाउँलेहरू एकीकृत भएर बालिकाको खोजीमा निस्किए। तर जब बालिकाको शव भेटियो, सबैको आशा निराशामा परिणत भयो। निर्दोष बालिकाको अनुहार हेर्ने साहस कसैको थिएन। प्रहरी आइपुग्दा गाउँ शोकाकुल भइसकेको थियो। 

शव भेटिएको स्थान हत्या स्थल नभई शव ल्याएर फालिएको ठाउँ जस्तो देखिएको प्रहरीको भनाइ छ।

बालिकाका काका अनिश सरदारमाथि प्रहरीले आशंका गरेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। अनिशले राति मदिरा सेवन गरेको स्वीकारेका छन्। तर उनले अपराधमा संलग्नता अस्वीकार गर्दै आएका छन्।

मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार घटनास्थलको अवस्था हेर्दा घटना संवेदनशील रहेको जनाइन्। बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्याको तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad