झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनावारीका लक्ष्मीकान्त खनालले आफ्ना बालबालिकालाई गाउँमै रहेको एक निजी विद्यालयमा पढाउँदै आएका थिए। उनको घर छेउमै रहेको जनता माध्यमिक विद्यालयमा पढाई नै हुँदैन भन्ने सबैलाई परेको थियो। गाउँको सामुदायिक विद्यालयकाे पढाई गए गुज्रिएकाे छ भन्ने मध्येका एकजना अभिभावक खनाल आफैँ पनि थिए।
तर धेरैजसो गाउँले भने एकआफसमा गफिँने क्रममा ‘नजिकै रहेको सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाई संचालन गरे बरु बोर्डिङलाई तिर्ने पैसा त्यही विद्यालयलाई तिर्ने थियौँ’ भन्थे। गाउँलेका यस्ता गफ विस्तारै झापाको अर्जुनधारा नगरपालिका- ३ खुदुनावारीमा रहेको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति र विद्यालय प्रशासनसम्म पुग्यो।
एकदिन विद्यालय प्रशासनले अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने बारेमा विद्यालय व्यवस्थापन समितिको बैठक डाक्यो। तर, विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने विषयमा समितिका सबै पदाधिकारीबीच एकमत हुन सकेन।
त्यो बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने विषयमा सकारात्मक देखिएनन्। तर, ‘विद्यालयलाई राम्रो बनाउने हो भने अंग्रेजी र नेपाली माध्यम दुवै माध्यमबाट पढाई सञ्चालन गर्नुपर्छ’ भन्ने दवाव बढ्दै गयो। त्यही दवावस्वरुप विद्यालयले २०७३ सालको शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई सञ्चालन सुरु गर्याे।
२०७२ साल जेठ २४ मा प्रअमा नियुक्त भएर आएपछि जयप्रकाश भण्डारीले विद्यालय सुधारको खाका विद्यालय व्यवस्थापन समिति समक्ष प्रस्तुत गरे। विद्यालयमा अंग्रेजी माध्यममा पढाई सुरु गर्ने बारेमा हुन लागेकाे छलफलमा सहभागिताकाे लागि आफ्ना बालबालिकालाई बोर्डिङ स्कुलमा पढाउँदै आएका पाँचसय अभिभावकलाई विद्यालयले पत्र काट्यो। त्यतिबेला पाँचसय जनालाई पत्र काटिएकोमा चारसय अभिभावक उपस्थित भए।
त्यो छलफलले विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने निर्णय गर्यो। अभिभावकले दिएको सुझावको आधारमा कक्षा नर्सरी देखि कक्षा ८ सम्म एकैपटक अंग्रेजी माध्यमबाट पढाई सञ्चालनकाे लागि विद्यार्थी भर्ना गर्ने सहमती भयो।
त्यती हुँदा पनि अभिभावकलाई विद्यालयले अंग्रेजी माध्यममा पढाई सुरु गर्ला भन्ने विश्वास थिएन। बिहान १० बजे विद्यालय खोलेर २ बज्दा नबज्दै विद्यालय बन्द भएको देखेका अभिभावकले विद्यालयले गुणस्तरीय शिक्षा दिन्छ भन्ने विश्वास गरुन् पनि कसरी?
पढाई बिग्रियो भनेँ आफ्ना नानीहरुको भविश्य विग्रने डरले कतिपय अभिभावकले सुरुमा आफ्ना बालबालिकालाई बोर्डिङ स्कुलबाट निकाल्न चाहेनन्। तर, बोडिङबाट आफ्ना बालबालिका निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका अभिभावकले भने विद्यालयको पढाई विग्रन नदिन खबरदारी गर्न थाले।
२०७३ वैशाखमा सञ्चालन गरिएको भर्ना अभियानको क्रममा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म गरेर चारसय ५० जना विद्यार्थी एकैपटक निजी विद्यालयबाट आए। त्यसैको जगमा विद्यालय बलियो बन्दै गयो। त्यहीबेला देखि नै आफूले बोर्डिङमा पढ्दै गरेका दुवै छोरीलाई सामुदायिक विद्यालयमा पढाउन सुरु गरेको खनाल बताउँछन्।
त्यसयता विद्यालयमा निरन्तर विद्यार्थी बढ्दै गएका छन्। अहिले यो विद्यालयमा अंग्रेजी माध्यममा एक हजार चारसय ९० र नेपाली माध्यममा पाँचसय ५४ सय जना विद्यार्थी अध्यनरत छन्। कक्षा ११ र १२ मा दुईसय ५० जना विद्यालय अध्ययन गरिरहेका प्रअ भण्डारीले बताए।
अभिभावकको निरन्तर खबरदारी
छोटो समयमा विद्यार्थीको संख्या बढ्दै गएपछि विद्यालयलाई भौतिक संरचनाको अभाव सुरु भयो। कि विद्यार्थी भर्ना नै गर्नु भएन, विद्यार्थीलाई भर्ना गर्ने हो भनेँ संरचना थप्नु पर्ने चुनौती बढेर गयो।
अभिभावकले विद्यालयमा थप संरचना निर्माणको लागि देउसी खेलेर रकम जोहो गर्न थाले। चार वर्षअघि विद्यालयले देउसी खेलेको रकमबाट केही कोठा थप गर्यो। स्थानीय पालिका र प्रदेश सरकारले पनि केही रकम सहयोग गरे।
प्रदेश सांसद चिन्तन पाठकको पहलमा विद्यालयको पुराना टिनको संरचनामा सिलिंग लगाउने काम भएपछि बिद्यार्थीलाई गर्मीको समयमा सहज भएको छ। नजिकैका सामुदायिक वन पनि अहिले विद्यालयका सहयोगी बनेका छन्।
जुकेखाडी सामुदायिक वन, सुखानी सामुदायिक वन, दाहालटार सामुदायिक वन र शान्ती सामुदायिक वनले सहुलियत र अनुदानमा डेक्स बेन्च र झ्याल ढोकाका लागि काठ उपलब्ध गराउँदै आएका छन् । यसले विद्यालयलाई आर्थिक रुपमा सहयोग पुगेको छ।
मावि पढाई भईरहेको अबस्थामा उच्च माविमा स्तरोन्नती गर्ने क्रममा पनि धरौटी सहयोग गर्ने काममा स्थानीय सामुदायिक वनहरुले भुमिका खेलेको शिक्षक तथा अभिभाकहरु बताउँछन्।
पहिला १० बजे आएर २ बजे नै टाप कस्ने शिक्षकहरुलाई ४ बजेसम्म टिकाउन सुरुका दिनमा निक्कै सकस भएको थियो। अभिभावकहरु नियमित विद्यालयको निगरानीमा आउन थाले। अभिभाव र विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासनलाई ढिलो आउने र चाँडो जाने शिक्षकलाई कार्वाही गर्नको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए। त्यसैको आधारमा एक–दुई घण्टा ढिला आउनेको पनि विदा कट्टा गर्ने र तलबसमेत कटौती गर्ने काम भयो।
अहिले पनि कुनै महिना २ जना, कुनै महिना ५ जनासम्मको तलव काटौतीमा पर्ने गरेको प्रअ भण्डारी बताउँछन्। ‘विद्यालयले अहिले पनि पेश्की बिदा दिने ब्यवस्था गरिएको छैन्,’ उनले भने, ‘दुईदिन नियमित बिदा बाहेक हामी बिदा दिँदैनौँ।’
कुनै शिक्षक बिदामा बसे भनेँ, गाउँमा ब्याचलर या प्लस टु सकेर बसेका विद्यार्थीलाई पढाउन लगाउने गरिएको छ। कक्षा ब्यस्त बनाउनको ल्याईने त्यस्ता शिक्षकलाई प्रति घण्टी ७५ रुपैयाँ र लामो समय पढाउनु पर्दा विद्यालयकै शिक्षकलाई थप घण्टी दिएर थप कक्षा लिएको अबस्थामा १०० रुपैयाँ प्रति घण्टी दिने गरिएको छ।
जनता माविमा अहिले दैनिक ४४ वटा कक्षा संचालन हुँदै आएको छ। विद्यालयको पढाई खस्किन नदिन अभिभावकले नियमित निगरानी गर्दै आएका छन्। शिक्षक नियमित भएपछि विद्यार्थी नियमित हुने, कुनै शिक्षक नआएको अवस्थामा अभिभावकले सिधै प्रअ र विषय शिक्षकलाई विद्यालयमा नै आएर सुधार गर्न सुझाउने गरेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए।

अभिभावकहरुको कक्षागत बैठक तथा भेला, अभिभावक आफैँ पनि विद्यालयमा गईरहने गरेको कारण विद्यालयमा निगरानी भएको उनले बताए । यहाँ पढाई सुधार्नको लागि अभिभावकको लगानी बढी भएको छ। यसले विद्यालय ब्यवस्थापन समिति पनि उत्साहित छ। ‘विद्यालय नै अभिभावकको सहयोगमा चलेको छ,’ उनले भने, ‘हामीलाई अभिभावकबाट आर्थिक, भौतिक र निरन्तर निगरानी हामीले पाएका छौँ।’
सुरुमा सबैले अविश्वास गरेको सामुदायिक विद्यालय अहिले सबै अभिभावकको विश्वासमा अघि बढ्दै छ। सामान्य समस्या पर्दा पनि अभिभाव सहयोगको लागि पुग्छन्। कक्षा कोठामा पंखा बिग्रिएको बेला सहयोगी बन्छन्, डेस्कबेञ्च विग्रियो भने मर्मत सम्हारको लागि पनि अभिभावक पुग्छन्।
विद्यालय सरसफाईमा होस् या मर्मत सम्हारमा अभिभावकको साथ र सहयोग सधैँ रहने गरेको प्रअ भण्डारीले बताए। हरेक दुईतीन दिनमा अभिभावक आफैँ विद्यालया आउने, समस्याको बारेमा जानकारी लिने र सधाउनुे गरेका छन्। विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रममा शत्प्रतिशत अभिभावक उपस्थित हुँदै आएका छन्।
हरेक दिन अभिभावकले आफ्ना छोराछोरीको ब्याग चेक गर्नुृ पर्ने नियम विद्यालयमा कडाईका साथ कार्यान्वायन गरिएको छ। ब्यग चेक गर्नु पर्ने, होमवर्क गरेको नगरेको, मिल्यो की मिलेन भनेर अनिवार्य घरमा हेर्नु पर्ने, यदि शिक्षकले गृहकार्य परीक्षण नगरेको भए विद्यालयमा जानकारी गराउने काम अभिभावकले गर्दै आएका छन्।
‘कति पिरियड, कतिवटा होमवर्क, क्लास वर्क कतिवटा भयो भनेर हरेक दिन अभिभावकले परीक्षण गर्छन्,’ प्रधानाध्यापक भण्डारीले भने, ‘त्यसको आधारमा कमी कमजोरी भएको भए तुरुन्त सुधारको लागि सुझाव दिने गरेका छन्।’
कुन विषय शिक्षकबाट कमजोरी भएको हो सो बिषय शिक्षकहरुलाई त्यसको बारेमा जानकारी गराउने काम प्रअ मार्फत हुने गरेको छ। सिधै अभिभावक बसेर पनि छलफल हुने गरेको छ।
अहिले पनि विद्यालयमा दैनिक ८ देखि १० वटासम्म समस्याको बारेमा टिपोट हुने गरेको छ।
अतिरिक्त क्रियाकलाप, परियोजना नियमित परीक्षण हुने गरेको कक्षा १० की विद्यार्थी एलिसा लिम्बुले बताइन्।
सरकारी सहयोगबिना पनि यस विद्यालयले कक्षा एकदेखि आठसम्म कम्युटर साइन्स विषय पढाउँदै आएको छ। पूर्व विद्यार्थीहरुको सहयोगमा ३८ वटा कम्युटर प्राप्त भएपछि त्यसको सदुपयोग गरिएको हो। विद्यालयमा एउटा ‘स्मार्ट बोर्ड’ राखिएको छ। त्यसमा सबै कक्षाका विद्यार्थीलाई पालैपालो ल्याएर प्रबिधिसँग जोडेर पढाउने गरिएको प्रअ भण्डारी बताउँछन्।
५ किलोमिटर हिँडेर आइपुग्छन् विद्यार्थी
२०५६ सालतिर यो विद्यालय दुई सिफ्टमा पढाई हुन्थ्यो। विद्यार्थीको चाप पनि राम्रै थियो। निजी विद्यालयको स्थापना र यस विद्यालयको फितलो व्यवस्थापनको कारण अभिभावकले आफ्ना बालबालिका निकाल्दै लगे। योे क्रम लामो समयसम्म चल्यो। २०७२ सालसम्म आउँदा विद्यार्थीको संख्या घटेर ४ सयमा झर्यो।
यसबीचमा अभिभावकको मेहनतबाट हाल विद्यालयमा दुई हजार एक सय ४० विद्यार्थी पढ्दै आएका छन्। जनता मावि नमुनाको नाममा राज्यबाट स्रोत पाउने विद्यालयभन्दा कमजोर छैन।
इलामसँग सिमाना जोडिएएको यो विद्यालयमा झापाका विद्यार्थी मात्र पढेका छैनन् इलामको माई नगरपालिका र रोङ गाउँपालिकाका विभिन्न वडाका बालबालिका पनि पढ्ने गरेका छन्। उनीहरु ५ किलोमिटर यात्रा तय गरेर विद्यालय आइपुग्छन्।
माई नगरपालिका वडा नम्बर ४ र ९ बाट अंग्रेजी र नेपाली माध्यममा पढ्नको लागि करिब एक सय विद्यार्थीहरु अटोमा धाउँछन्। चेप्टीका बालबालिका गाडी चढेर आउँछन्। अर्जूनधारा नगरपालिका ३, जुकेखाडीका करिब दुई सय बालबालिका हिँड्दै विद्यालय पुग्छन्।
आर्थिक अबस्था केही सबल हुनेहरु नियमित अटोमा र नहुनेहरु हिँडदै ३ किलोमिटर टाढाबाट विद्यालय आउने गरेको शिक्षक हेमबहादुर खत्रीले बताए।
‘इलामको रोङ गाउँपालिका अटोेमा आउने ३० जना र एकसय भन्दा धेरै विद्यार्थी हिँडेरै विद्यालय आउँछन्,’ शिक्षक खत्रीले भने, ‘पाँच किलोमिटर टाढाबाट हिँडेर आउँन उनीहरु बिहान सात बजे नै घरबाट निस्कनु पर्छ।’ सबैभन्दा टाढा ताखिमुरे चुरे क्षेत्र र मिश्र टारबाट आउने विद्यार्थीलाई निकै समस्या छ।.।
शिक्षकले आफ्ना बालबालिका बोर्डिङमा पढाए कारबाही हुने नियम
सुरुवातका दिन विद्यालयलाई अंग्रेजी माध्यममा लग्नकोलागि अभिभावकले बार्डिङ स्कुललाई तिर्ने आधा रकम सरकारी विद्यालयलाई तिर्ने प्रतिवद्धता जनाएका थिए। त्यसैको सहयोगमा विद्यालय यहाँसम्म आईपुगेको हो।
अभिभावकले नै शिक्षक कर्मचारीका छोराछोरी सबै जनता माविमा नै पढाउनु पर्ने, शिक्षकले आफ्ना छोराछोरी पढेको कक्षामा एक घण्टी अनिवार्य पढाउनै पर्ने बाध्यकारी नियम बनाइएको छ। ‘आफ्ना छोराछोरी निजी वा अन्य विद्यालयमा पढाएको पाइए शिक्षकलाई त्यस विद्यालयमा पढाउनै नपाउने नियम बनाएका छौँ,’ प्रअ भण्डारीले भने।

अभिभावकले आफ्ना बालबालिका जति कक्षामा पढ्ने हुन्, वार्षिक रुपमा त्यति नै रकम विद्यालयलाई सहयोग गर्दै आएका छन्। ‘कक्षा १० मा आफ्ना छोरा छोरी पढाउँने अभिभावकले वर्षको १० हजार सहयोग गर्छन्,’ प्रअ भण्डारीले भने, ‘त्यसैगरी कक्षा ५ मा पढ्नेले पाँच हजार तिर्छन्।’ यो नियम पनि अभिभावकले नै बनाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आचार्यको भनाई छ।
विद्यालयलाई अभिभावकले सहयोग गरेको रकमबाट ३२ जना निजी स्रोतका शिक्षकले पारिश्रमिक लिन्छन्। विद्यार्थीको अनुपातमा शिक्षक कम भएपछि यस्तो नियम बनाइएको हो।
‘दरबन्दी थोरै छ, विद्यार्थीको चाप बढ्दै गएको छ,’ प्रअ भण्डारीले भने, ‘प्रदेश सरकारले उपलब्ध गराएको चारकोठे भवनबाहेक यहाँ संघीय सरकारले भवन निर्माणमा कुनै सहयोग गरेको छैन। समुदायको प्रयासबाट मात्रै हामीले विद्यालयको पढाई सुधार्न प्रयास गरिरहेका छौँ।’
Shares

प्रतिक्रिया