समाज


चिसो मौसममा स्वादिलो भाक्का

चिसो मौसममा स्वादिलो भाक्का

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १३:५२, झापा

उज्यालो नहुँदै झिसमिसेमा झापाको धुलाबारी मोडमा आइपुग्छन् पाहानी राजवंशी र सुरु गर्छन् माटाको भाडामा भाक्का पकाउन। यतिबेला उनको दैनिकी नै बनेको छ यो कर्म। 

मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४ः३० बजे नै पुग्छन्। पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उहाँले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ।

पकाएको भाक्का ग्राहकलाई बेच्न उन श्रीमान भद्रु राजवंशीले सहयोग गर्छन्। गोलभेडामा लसुन र अकबरे खुसार्नी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु। १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ। उनले दैनिक जसो दुई हजारदेखि दुई हजार पाँच सयसम्मको भाक्का विक्री गर्दै आएका छन्।

भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरू, विद्यार्थी र गाडीका यात्रुहरू हुन्छन्। पहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्चेहरू आधा दर्जन जति छन्। उनीहरूले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन्।

चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ। धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरूले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन्।

प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरूले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरूमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन्। यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ।

पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरूले मात्र बनाउने गर्दथे। तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरूले समेत भाक्का बनाउन थालेका छन्। यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक बर्ष पुस २९ गते झापामा विगत आठ बर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ। चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नम्बर ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउँछन्। राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उनी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad