बागमती


आचारसंहिता लत्याउँदै जिसस प्रमुख पार्टी प्रवेश कार्यक्रममा

आचारसंहिता लत्याउँदै जिसस प्रमुख पार्टी प्रवेश कार्यक्रममा

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १४:१, हेटौँडा

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको छ। गत आइबार (मंसिर २) देखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार आइतबारदेखि उपनिर्वाचन हुने जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुनेछ। 

तर मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलान भने निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै माओवादी केन्द्रका उम्मेदवार रविन प्रधानको प्रचारप्रसार तथा पार्टी प्रवेश कार्यक्रममा सक्रिय भइरहेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदै छ। 

जिसस प्रमुख घलानले पार्टी प्रवेश गराएको तस्बिर फेसबुकमा राख्दै माओवादी केन्द्र मकवानपुर इन्चार्ज विजय गौतमले लेखेका छन्, ‘आजको बिहानी, नवप्रवेशी युवाहरूबीच, न्यानो स्वागत।’

पार्टी प्रवेश गराउने कार्यक्रममा मात्रै नभएर घलान उम्मेदवार प्रधान जिताउन घरदैलो अभियानमा समेत हिँडिरहेका छन्।

केही दिनअघि नेकपा एमालेका नेताहरूले पनि पार्टी कार्यालयमै पार्टी प्रवेशको कार्यक्रम गरेका थिए। 

यसरी निर्वाचन आचारसंहिता उल्लघंन गर्नु राम्रो विषय नभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बताइन्।

आफूहरूको पछिल्लो काम नै आचारसंहिता सिकाउने, बुझाउने भएको उल्लेख गर्दै उनले नेपालखबरसँग भनिन्, ‘आज पनि हामीले सम्बन्धित सरोकारवाला निकायहरूसँग आचारसंहिताको विषयमा छलफल गर्‍यौँ। यसरी यो समयमा पार्टी प्रवेश गराउनेदेखि भोट माग्ने, समाजिक सञ्जालको प्रयोग गरेर मततादामाझ भ्रम फैलाउने आदी कामहरू गर्न पाइँदैन। यदि यस्तो विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा छानबिन गरेर कारबाहीसमेत गर्न बाध्य हुनेछौँ।’

तर अहिलेसम्म कुनै उजुरी नआएको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताए। 

निर्वाचन आचारसंहिता लागू भएका समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई यस्ता काम नगर्न उनले अनुरोधसमेत गरिन्। 

हेटौँडा-१२ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि १२ जना जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमा ९ उम्मेदवार राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार छन्। 

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष ललित घलान जिसस मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि उनको स्थान रिक्त भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad