समाज


तिवारी भञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र

तिवारी भञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र

नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:५२, भाेजपुर

भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ(अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ ।  मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो। 

तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पुर्‍याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेकोले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ। 

तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म  एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु एक करोड र दोस्रो प्याकेजको भ्याटसहित रु चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ। 

‘तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सडकको काम दुई प्याकेजमा भइरहेको छ । कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ ।’ सडक सङ्घीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो।

यो सडक कालोपत्रको काम गाउँपालिकाको गौरवको आयोजनाको रूपमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यो सडक भोजपुरवासीलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले महत्वका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । आफ्नो कार्यकालभित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। 

‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो’, अध्यक्ष राईले भने, ‘भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । भावी दिनमा यो सडकको अधेँरीघाटसम्मको ३१ किलोमिटर नै कालोपत्र गर्ने मेरो लक्ष्य छ।’

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र सुरु भएपछि उत्साह थपिएको वडा नं २ तिवारीभञ्ज्याङका स्थानीयवासी राजकुमार तिवारीले बताए । सडक कालोपत्र सुरुले गाउँपालिकावासीको धेरैपछिको सपना पूरा भएको उनको भनाइ छ।

‘सडक कालोपत्र थालिएपछि हामीमा उत्साह थपिएको छ’, उनले भने, ‘सडक कालोपत्रले यहाँको जनजीवनमा परिवर्तन आएको छ । गाउँपालिकाले थालेको यो काम प्रशंसायोग्य छ । यो सडकले हाम्रो गाउँपालिको सम्पूर्ण भू–भागलाई छोएको हुनाले यहाँका कृषि उपजले समेत राम्रो बजार पाउने छ।’

सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गतेसम्म रहेको छ । सडक नालीसहित आठ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्द जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्रविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad