समाज


जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोसाकमा भेटिन्छन्

जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोसाकमा भेटिन्छन्

पाँचथरको फिदिम नगरपालिका–७ स्थित रानीटार माध्यमिक विद्यालयमा आआफ्ना जातीय पोसाकमा विद्यार्थी तथा शिक्षक।


रवीन्द्र काफ्ले
फागुन २२, २०७९ सोमबार ६:२०, पाँचथर

पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आआफ्ना जातीय पोसाकमा भेटिने गर्छन्। यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ। नामजस्तै सुन्दर बस्तीको बीचमा अवस्थित यस विद्यालयमा विद्यालय समय भएपछि विद्यार्थी र शिक्षकहरू वरिपरिका गाउँ बस्तीबाट विद्यालयतर्फ अघि बढ्छन्। धेरै जातजातिको बसोबास रहेका कारण विद्यार्थी तथा शिक्षकहरू आआफ्ना जातीय पोसाकमा सजिएर विद्यालय आएको दृश्य निकै आकर्षक देखिन्छ। 

गुरुङ, तामाङ, लिम्बू, राई, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा केही सीमितबाहेक यहाँ अधिकांश विद्यार्थी र शिक्षक साताका यी दुई दिन मौलिक पोसाकमा सजिएर विद्यालय पुग्ने गर्दछन्। थरीथरीका पोसाकले कक्षाकोठामा बसेका विद्यार्थीहरूको विविधता पनि निकै आकर्षक देख्न सकिन्छ। 

विद्यालयको व्यवस्थाअनुसार प्रत्येक हप्तामा सोमबार र बिहीबार शिक्षक र विद्यार्थी आआफ्ना जातीय पोसाकमा सजिएर विद्यालय आउने क्रम नियमित र व्यवस्थित पनि भइसकेको छ। केही समय अघिदेखि सुरु भएको यो कार्यमा अहिले विद्यार्थी र शिक्षक अभ्यस्त भइसकेका देखिन्छन्। कक्षा–८ की छात्रा निरुता राई विद्यालयले जातीय पोसाक लगाउने व्यवस्था गरेपछि मात्रै आफ्नो मौलिक पोसाकबारे बुझ्ने, लगाउने तरिका सिक्ने अवसर मिलेको बताउँछिन्।

विद्यार्थीहरू सुरुसुरुमा जातीय पोसाक लगाउन असहज भए पनि अहिले यसैमा बानी परेको बताउँछन्। विद्यालय पोसाकभन्दा जातीय पोसाक लगाउन समय लाग्ने र खर्चिलो भए पनि यसैमा विद्यार्थी खुशी देखिन्छन्। पोसाकबारे व्यावहारिक जानकारी प्राप्त भएको विद्यार्थीहरूको अनुभूति छ।

रानीटार माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सेवा क्षेत्रमा रहेको विविधतालाई उजागर गर्दै आफ्नो मौलिक पहिचान र संस्कृतिबारे जानकार बनाउन यो अभियान सुरु गरिएको हो। अन्य विद्यालयहरूमा राष्ट्रिय पोसाक लगाउने व्यवस्थाबारे आफूहरूले सुने पनि विविधता रहेका स्थानमा जातीय पोसाक लगाउने व्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक राईको भनाइ छ।

‘सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ’, प्रअ राईले भने, ‘कक्षा १ देखि १२ सम्म नै तस्बिर देखाएर यो फलानो जातिको पोसाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ। त्यहीँ सिकाइ हुन्छ।’

अभियानले पोसाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ। आफ्नो पोसाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको प्रअ राईले बताए। विद्यालयले अभियान सञ्चालनका लागि सबै अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो। जातीय पोसाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले एक वर्षअघि नै आह्वान गरेर यस वर्षदेखि नियमित गरेको हो। 

यद्यपि कमजोर आर्थिक अवस्थाका कतिपय विद्यार्थीले जातीय पोसाक खरिद गर्न सकेका छैनन्। ‘हरेक वर्ष चाडपर्वमा लुगा कपडा किन्दा आफ्नो जातीय पोसाक पनि खरिद गर्न सबै अभिभावकहरूलाई विद्यालयले आग्रह गर्दै आएको छ’, प्रअ राईले भने, ‘थोरै पैसा बचत गर्दा रानीटार जातीय पहिचान झल्काउने र पोसाकबारे व्यावहारिक ज्ञान दिन सम्भव हुने देखियो।’

जातीय पोसाक खरिद गर्दा नसकेका १० जना विद्यार्थीलाई विद्यालयले खरिद गरिदिन लागेको छ भने अन्यलाई पोसाक खरिद गरिदिन वडा कार्यालयसँग माग गरेको छ। यस्तै नेपाल आदिवासी जनजाति महासङ्घको वडा समिति र जातीय सङ्घ सङ्गठनहरूलाई पनि पोसाक खरिदमा सहयोग गरिदिन आग्रह गरिएको प्रअ राईले बताए। 

पोसाक लगाउने अभियानले थप सकारात्मक उपलब्धि पनि दिएको छ। यहाँका सबै समुदायका विद्यार्थी अहिले आफ्नो जातीय नृत्य प्रस्तुत गर्न र गीत गाउन सक्ने भएका छन्। हालै यस विद्यालयमा आयोजित सम्मान कार्यक्रममा सबै जातिका विद्यार्थीले आआफ्ना जातीय नृत्य प्रस्तुत गरेका थिए। ‘गुरुङले रोदी, तामाङले सेलो, राईले साकेला, लिम्बूले च्याब्रुङ, ब्राह्मण-क्षेत्रीले सँगीनी नाच्न सक्ने, आवश्यक परेको खण्डमा यहाँका विद्यार्थीले बाहिर गएर प्रशिक्षणसमेत दिन सक्दछन्’, सहायक प्रधानाध्यापक वीरेन्द्र अधिकारीले भने। 

विद्यालयले सञ्चालन गरेको अभियानलाई वडा कार्यालयले समेत सहयोग गर्ने भएको छ। वडाध्यक्ष रुपेन्द्र तामाङ जातीय पोसाक लगाउने अभियान ऐतिहासिक भएको बताउँछन्। ‘सुरुआतमा कठिन परे पनि अभियान व्यवहारमा अवलम्बन भइसकेको छ। अभियानसँग विद्यार्थी र अभिभावकहरू सकारात्मक हुनुभएको छ’, वडाध्यक्ष तामाङले भने, ‘अभियानले बाल मस्तिष्कमा भाषा, लिपि, संस्कृतिको जगेर्नाका लागि एकदमै सकारात्मक छाप परेको छ।’ 

आगामी दिनमा भाषिक शिक्षाको समेत व्यवस्था गर्न र जातीय पोसाक लगाउने अभियानलाई निरन्तरता दिई पूर्णता बनाउन वडाले सहयोग गर्ने उनले बताए। यसअघि पाँचथरको फालेलुङ गाउँपालिका–६ मा अवस्थित दीपज्योति आधारभूत विद्यालयले राष्ट्रिय पोसाक लगाउने अभियान चलाएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad