करेन्ट लागेर मुगुको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा १० वटा खच्चर मरेका छन्। आइतबार बेलुका करिब ६ बजेको समयमा विद्युतको ट्रान्समिटरबाट करेन्ट प्रवाह हुँदा बाटोमा हिँडिरहेका खच्चरहरु मरेका हुन्।
घटनामा तीन वटा घर परिवारका १० वटा खच्चर मरेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक अचुतराज आचार्यले जानकारी दिए।
उनकाअनुसार छायाँनाथ रारा नगरपालिका–१ का कर्णबहादुर मल्लका चारवटा, वडा नम्बर १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन्।
सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको हो।
खच्चर धनी कर्णबहादुर मल्लले विद्युत प्राधिकरणको लापरबाहीका कारण घटना घटेको बताए। उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्छ।
साथै खच्चर धनीहरुले क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरेका छन्। यस्तै, प्रहरीले करेन्ट लागेर खच्चर मरेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया