समाज


कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

फाइल तस्बिर


नेपालखबर
चैत ३१, २०८१ आइतबार १३:४६, सुर्खेत

आर्थिक वर्ष २०८/८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन्। 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छवटा झोलुङ्गे पुल निर्माण भएका छन् । पाँच वटा सडकमा पुल (मोटरेबल) निर्माण भएको पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए। 

हुम्लामा चार र कालीकोटमा दुई झोलुङ्गे पुल निर्माण भएका छन् । त्यस्तै सुर्खेतमा एक, जाजरकोटमा एक, कालीकोटमा एक, मुगुमा एक र सल्यानमा एक मोटरेबल पुल निर्माण भएका हुन् । चालु आवमै २१ दशमलव ४५ किलोमिटर सडक कालोपत्र गरिएको छ। 

यो अवधिमा ९५ किलोमिटर कालोपत्र गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार दुई सय पाँच किलोमिटर ग्राभेल र ५२५ कच्ची सडक कटानको काम भएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि बहुवर्षे ठेक्का हुने गरेर आठ वटा नयाँ मोटरेबल पुल निर्माणका लागि स्वीकृति दिइएको छ । त्यस्तै एक बेलिब्रिज पुल निर्माण गर्नका लागि सहमति प्रदान गरिएको छ। 

एकचालीस वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्नका लागि स्रोत सुनिश्चित गरेर बहुवर्षे ठेक्काको काम सुरु भएको छ । रुकुम–पश्चिममा पाँच योजनामध्ये एक सडक, दुई पुल र दुई झोलुङ्गे पुल मात्र स्रोत सुनिश्चित गरिएको छ । जाजरकोटका तीन बेलिब्रिज पुलका लागि स्रोत सुनिश्चित भई काम सुरु गरे पनि बारेकोट र नलगाड नगरपालिकाको बीचमा रहेको खारामा नलगाड जलविद्युत् आयोजनाले पनि पुल निर्माण गरिरहेकाले सो ठाउँमा अहिले तत्काल पुलको काम रोखिएको छ।

एघार योजना सुर्खेतमा स्रोत सुनिश्चित गरिएको छ। त्यसमध्ये चार झोलुङ्गे पुल, चार सडक, दुई सडक तथा पुल र अन्य संरचना एउटा रहेको छ। दैलेखमा दुई मोटरेबल पुल, आठ झोलुङ्गे पुलको लागि बजेट सुनिश्चित गरिएको छ। मुगुमा छ वटा योजनाको मात्र स्रोत सुरक्षित गरिएको छ। हुम्लामा तीन, डोल्पामा आठ, जाजरकोटमा चार, कालीकोटमा तीन, दैलेखमा आठ, सल्यानमा सात र जुम्लामा चार योजनाको बजेट सुनिश्चित गरिएको छ। कर्णाली ६१ योजनाको स्रोत सुरक्षित गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए। 

चालु आर्थिक वर्षमा ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सुर्खेतको दशरथपुर–जितेजुवा–ढाँडखेत–मटेला–धरमपोखरा सडक, जाजरकोटको पश्चिम क्षेत्रमा रहेको शिवालय गाउँपालिकाको मोर्क हुँदै छेडागाड नगरपालिकाको चङ्खिला–बडावन–जुनिचाँदेको सानाखोलाको काम सुरु भएको छ । रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाको नार्जी–खोलागाउँ–चौखा–बैरागीठाँटी, मुसीकोट–सल्ले सडकको कालोपत्रको काम सुरु गरिएको उहाँले जानकारी दिए। 

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत दैलेखको डुङ्गेश्वर–डाँडापराजुल सडक स्तरोन्नति तथा दैलेखको सम्झौताको काम पुरा भएर काम सुरु हुन लागेको छ। गल्फागाड–थालाकाटे सडक स्नरोन्नतिको कामसमेत सुरु भएको छ।  

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरस्थित रङ्गशाला वरिपरि, सुर्खेत विमानस्थल जोड्नेलगायतका सडक कालोपत्र गर्ने काम पुरा भएको छ। हुम्लाको खार्पु–सिमकोट नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिङ्बो बस्ती विकास कार्यक्रमको सम्झौता हुने चरणमा रहेको जानकारी गराइएको छ।  

प्रादेशिक सडक गुरुयोजना अद्यावधिक गरी स्वीकृतिको अन्तिम चरणमा रहेको जनाइएको छ । सुस्त गतिमा काम गरिरहेका करिब ३५ सडक तथा पुल आयोजनाको हाल दुई तिहाइ आयोजनामा प्रगति सन्तोषजनक रूपमा अघि बढेको मन्त्रालयको दाबी छ। 

यस्तै भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानका क्षति भएका सार्वजनिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणका लागि कूल रु ५० करोड विनियोजन भई ६२ विद्यालय र १८ स्वास्थ्यचौकी गरी कूल ८० संस्थाहरूको पुनर्निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad