ad ad

समाज


‘बाल्यकालमा जिस्क्याएर हैरान पार्थे, यौन हिंसा रहेछ’

नाबालिगको हकमा बीस वर्षपछि भए पनि बोल्न पाउनुपर्‍याे : अधिवक्ता प्रविन पन्दाक
‘बाल्यकालमा जिस्क्याएर हैरान पार्थे, यौन हिंसा रहेछ’

फेटाे/भिडओ : विशाल कार्की


जेवी पुन मगर
जेठ १३, २०७९ शुक्रबार २०:०, काठमाडौँ

अधिवक्ता प्रविन पन्दाक लिम्बूले कानूनमा स्नातकोत्तर गरेकी छिन्। नेपालमा ‘सरोगेसी मदर’का रुपमा भइरहेको ‘कोखको व्यापार’लाई सर्वोच्च अदालतमार्फत कानूनी बञ्देज लगाउन एकाध वर्षअघि अधिवक्ता पन्दाकले निर्णायक भूमिका खेलेकी थिइन्।

नियमित जागिरे जीवनका बावजुद पन्दाकले महिलामाथि भएका हिंसाका घटनामा अदालतसम्म पुगेर कानूनी बहस गर्दै आएकी छिन्। चलचित्रमा अभिनय गरेकी कलाकार हुनुको नाताले उनले मनोरञ्जन क्षेत्रको समेत अनुभव सँगालेकी छिन्।

मिडियामा आउन खासै नरुचाउने पन्दाक अहिले समाजमा बढिरहेका बलात्कारका घटनालाई विधिशास्त्रीय पाटोबाट विश्लेषण गर्न रुचाउँछिन्।

यसै सन्दर्भमा हामीले पन्दाकसँग बलात्कारलाई हाम्रो कानूनले कसरी व्याख्या गरेको छ भन्नेबारे कुराकानी गरेका छौँ। महिला र पुरुषबीचको प्रेम र सहमतिको सम्बन्धलाई कसरी व्याख्या गर्ने? बलात्कारको केसमा हदम्याद राख्नु ठीक कि बेठीक? सौन्दर्य प्रतियोगिताबारे अहिले भइरहेको बहसलाई कसरी लिने? 

प्रस्तुत छ– कानुनविद् एवं कलाकार प्रविन पन्दाकसँग नेपालखबरले गरेको भिडिओ वार्ताको सम्पादित अंश  :   

   

नेपालको कानुनले बलात्कारलाई कसरी परिभाषा र व्याख्या गरेको छ?
बलात्कारलाई हाम्रो कानुनले जबरजस्ती करणी भनी बुझ्छ। यसलाई मुलुकी अपराध संहिता २०७४ ले स्पष्टसँग ब्याख्या गरेको छ। संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसुर अन्तर्गत दफा २१९ को (२) मा ‘कसैले कुनै महिलालाई मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिए पनि १८ बर्ष भन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्ता महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनेर लेखिएको छ।

शारीरिक क्रीडा मात्र नभई शरीरमा कुनै वस्तु प्रविष्ट गराइए पनि त्यसलाई जबर्जस्ती करणीको श्रेणीमा राखिएको छ। बलात्कारसँग मुख्यतः दुईवटा कुरा जोडिएका छन्। एउटा मन्जुरी अर्काे उमेरको हदबन्दी।

मन्जुरी केलाई मान्ने? केलाई नमान्ने?
मन्जुरीलाई कानूनमा प्रष्ट पार्न खोजिएको छ। मन्जुरीबारे स्पष्टीकरणमा भनिएको छ– करकाप, अनुचित प्रभाव, डर–त्रास, झुक्यानमा पारी, अपहरण गरी वा शरीर बन्धक बनाई लिइएको मन्जुरीलाई मन्जुरी मानिनेछैन। होस ठेगानमा नभएका बेला लिइएको मन्जुरीलाई पनि मन्जुरी मानिने छैन। मन्जुरी पनि निस्वार्थ हुनुपर्यो। स्पष्ट हुनुपर्यो। अनुचित प्रभावमा पारिएको हुनुभएन। यो सबै प्रावधानले दुबैजनाको सहमति र राजीखुशीमा गरिएको क्रीडालाई मात्र कानूनले सहवास मानेको छ।

एउटा मुद्दाको मिसिल पढेकी थिएँ। एउटा टेलिकममा जागिर लगाइदिन्छु भनी लोभ देखाई त्यहाँ कार्यरत एकजना प्राविधिकले एकजना महिलासँग शारीरिक सम्पर्क राखे। उनले मन्जुरी त लिए तर केटीले ‘मलाई प्रलोभन दिई करणी गरियो’ भनेपछि त्यो बलात्कारमा परिगयो।

त्यसर्थ, कानुनले मन्जुरी पनि वास्तविक हो कि होइन भनेर हेर्ने गर्छ। हामीकहाँ अवसर दिन्छु भनेर बलात्कार गर्ने गरिएको छ। विवाह गर्ने लोभ देखाई बलात्कार गरिन्छ। प्रेममा बलात्कारमा पर्ने कयौं छन्। अखाद्य पदार्थ (नशालु पदार्थ) खुवाई होस ठेगानमा नभएका बेला बलात्कार गरिन्छ।

भिडिओ : विशाल कार्की

उमेरको प्रावधान नि?
१८ बर्ष उमेर नपुगेको हकमा मन्जुरीको कुरै भएन। नाबालिगलाई सहमतिमा यौनसम्पर्क गरे पनि उजुरी परेमा त्यो बलात्कार नै ठहरिन्छ। १८ बर्ष पुगिसकेको महिलाको हकमा चाहिँ मन्जुरी लिएर र मन्जुरी नलिई भन्ने दुईटा कुरा छन्। मन्जुरी लिएको केलाई मानिने, केलाई नमानिने भन्ने छ।

मादक पदार्थ सेवन गरी बलात्कार गरेको जुन कुरा अहिले उठिरहेको छ, तपाईले भन्न खोज्नुभएको त्यही हो?
हो। तपाईंले देखिरहनुभएकै छ अहिले एउटा नाबालिग मोडेललाई नशालु पदार्थ खुवाई बलात्कार गरिएको घटना ती युवतीले ८ वर्षपछि उजागर गरिदिएकी छन्। यो मुद्दाले सडक र सदन तताएको छ। यस प्रकरणमा पीडित नाबालिग भएकाले सहमति–असहमतिको कुरै रहेन। यो सिधै जघन्य अपराधमा पर्न गयो।

हाम्रो कानुनको कमजोरीका कारण बलात्कार भएँ भन्दै रिसईवी साँध्न, फसाउन आउनेहरु पनि हुन्छन् भनिन्छ। के यो सत्य हो?
नाबालिगा र १८ बर्ष नाघेका दुबैको हकमा पीडित हुँ भन्दै पुरुषलाई फसाइएका केसहरु म आफैंले हेरेकी छु। हाम्रो कानुनी प्रावधानमा भएका कमी कमजोरीका कारण यस्ता अपवादका केस हुने गर्दछन्।

जस्तै– नाबालिगकै कुरा गर्दा हाम्रोमा अझै बालविवाह हटिसकेको छैन। दुईजना उमेर नपुगिकनै भागिदिन्छन्। रिसईवी साँध्न केटी पक्षले केटालाई बलात्कार मुद्दामा फसाइदिन्छन्। एकजना प्रेम गरेको केटो जेलमा सड्न बाध्य हुन्छ।

प्रेम त प्राकृतिक हो। यो जुनसुकै उमेरमा पनि हुने भयो। मिलेको केसमा सयौं विवाहलाई सामाजिक मान्यता प्राप्त हुन्छ। सदर भएर गएका छन्, त्यसमा कुनै विवाद उठ्दैन। तर, यदि कुरा मिलेन भने कानुनी प्रावधानको दुरुपयोग गरिएका उदाहरण थुप्रै छन्। यो भयो नाबालिगका कुरा। १८ बर्ष नाघेका र मन्जुरीमा  शारीरिक सम्बन्ध गाँसेकाले पनि पछि कुरा नमिलेपछि बलात्कृत भएँ भन्दै आएको देखिन्छ।

यस्तो बदमासीलाई चाहिँ कानुनले कसरी नियन्त्रण गरिरहेको हुन्छ?
अहिलेको हाम्रो कानुनी प्रक्रियाको समस्या के हो भने ‘म बलात्कृत भएँ’ भनेर जाहेरी दिनासाथ आरोपीलाई समातेर प्रहरीले अनुसन्धान अगाडि बढाउँछ। प्रमाण हराउने र नष्ट पारिने डरले यस्तो प्रावधान राखिएको हो।

रुँदै, कराउँदै प्रहरीकोमा जाहेरी दिएकै भरमा कसैलाई पनि समातेर हिरासतमा राख्न जरुरी छैन। पहिला घटनाको राम्रो अध्ययन हुनुपर्यो। राम्ररी प्रमाणको विश्लेषण गरियोस्। राज्यले यस्तो सिस्टम बनाओस्, जसले कसैले आरोप लगाएकै भरमा कोही निर्दाेष नफसोस्।

यदि आरोपीलाई पक्राउ नगर्दा समाज नै सिद्धिने डर हो वा अपराधको प्रमाण नै नष्ट हुन्छ र अपराधी नै मुक्त हुन्छ भने समातौँ। तर, कुनै सोझो र आफ्नो क्षेत्रमा प्रगति गरेको पुरुषलाई फसाउन जालझेल त गरिएको छैन? किनकि त्यसरी फसाइएका दृष्टान्ट देखिएका छन्।

यो हेर्न अहिलेको ‘मेकानिज्म’बाट सम्भव देखिँदैन। पहिला राज्यले राम्ररी अनुसन्धान गर्ने संयन्त्र बनाउन जरुरी छ, जुन संयन्त्रले कोही निर्दाेष नफसुन् र कोही अपराधी नउम्किऊन्। 

हाम्रो कानूनमा भएको हदम्याद प्रावधानले बलात्कारीहरु उम्किरहेका र पीडितले न्याय नपाइरहेको भन्दै यो हदम्याद हटाउने माग उठिरहेको छ। यसमा तपाईको भनाइ के हो?
फौजदारी न्यायको सिद्धान्तमा हदम्यादको निकै महत्वपूर्ण स्थान हुन्छ। हाम्रोमा बलात्कार भएको एक बर्षभित्र जाहेरी दिइसक्नुपर्ने भन्ने हदम्यादको व्यवस्था छ। मैले यसमा के बुझ्छु भने समाज कानुनभन्दा द्रुतगतिमा परिवर्तन हुँदै गैरहेको छ। कानुन जे हो, त्यही हुनुपर्छ भन्ने छैन। हामीले अपराध रहित समाजको परिकल्पना गरेको हो।

पछिल्लो घटना सार्वजनिक गर्ने बहिनीलाई म अत्यन्तै आभारसहित सम्मान ब्यक्त गर्दछु। किनकि उनले घटना सार्वजनिक गरेपछि अरुले पनि आफूमाथि भएका बलात्कारका घटना श्रृंखलावद्ध रुपले सार्वजनिक गर्दै गए।

अहिले म सम्झन्छु। बाल्यकाल र यौवन कालमा मलाई सार्वजनिक थलोमा जिस्क्याएर हैरान पार्थे। अहिले आएर थाहा भो, कतिपय ती व्यवहार यौन हिंसा रहेछन्। यस्ता दुर्व्यवहार हाम्रा नाबालिग नानीहरूले कति सामना गरेका छन् कति। यसलाई सामान्यरुपमा लिइएको छ।

हाम्रा सपना पूरा गर्न उमेर पर्खेर बस्ने भन्ने कुरै हुँदैन। त्यतिञ्जेल ढिलो भैसकेको हुन्छ। हामीलाई जहिले सक्षम भएँ भन्ने लाग्छ, त्यसबेलैदेखि ‘करिअर’का लागि संघर्ष शुरु गर्ने हो। यसरी ‘करिअर’ बनाउन जुटेका नानीहरुको कोमलता र सोझोपनालाई किन कसैले दुरुपयोग गर्ने? यसमा नाबालिगको हकमा दश बर्ष होइन, बीस बर्षपछि भए पनि बोल्न पाउनुपर्यो। यदि पीडित नाबालिग हो र उसले ‘म भन्न सक्दिनँ, मलाई डर हुन्छ, त्रास हुन्छ, मेरो आत्मसम्मानको सुरक्षा हुनुपर्यो’ भन्छ भने निमुखाहरुको आत्मसम्मानको रक्षाको कुरालाई हामीले हदम्याद लगाएर सिध्याइदिने? साँच्चिकै भन्ने हो भने यो संविधानको आधारभूत अधिकारको विरुद्ध छ।

नाबालिग जहिले सक्षम हुन्छ, उ त्यतिखेर खुलेर आउँछ र आफूमाथि भएको दुर्व्यवहारबारे उजुरी गर्छ। यसमा हदम्याद लाग्ने प्रावधान राख्नै हुँदैन। हदम्यादको आडमा अपराधीले बलात्कार जस्तो जघन्य अपराध गरेर समाजमा टाउको उठाएर हिँड्न पाउनुहुँदैन। हदम्यादका कारणले पीडितले झन पीडा भोग्न परिरहेको छ।

ती नानीले मार्मिक प्रश्न उठाएर हाम्रो कानुनी प्रणाली नै सच्याउन आँखा खोलिदिएकी छन्। कोही बोल्न सक्दैन। तर, जब आँट जुटाएर आफूमाथि भएको हिंसाबारे बोलिन्छ, त्यतिबेला हदम्यादको कुरा उठाएर श्रृंखलावद्ध रुपमा उल्टै पीडितमाथि आक्रमण गरिन्छ। बिचरी कति साहस जुटाएर आफूले भोगेको मानसिक व्यथा सुनाइरहेकी छिन्। हामीचाहिँ हदम्यादको कुरा गरेर उनलाई झन पीडा दिइरहेका छौँ।

तर, यी युवतीको साहसका कारण समाजका अन्य महिलाहरुले त आँट पाए होला नि?
अब जिन्दगीभर ती नानीलाई कसैले बलात्कार गर्ने प्रयत्न गर्दैन। उनको आवाजमा आवाज मिलाउनेहरुलाई पनि त्यसरी आक्रमण गर्ने आँट गर्ने छैनन्। किनकि अपराधीलाई मैले यी महिलालाई बलात्कार गर्ने प्रपञ्च गरेँ भने यी मेरो बिरुद्ध खनिन आइपुग्छन् भन्ने डर हुन्छ। उहाँहरु बलात्कारबिरुद्ध आँट देखाएर सडक र सदनमा आउनुभो, यसले राम्रो गरेको छ।

यो घटनाले आफूमाथि भएको दुर्व्यवहारमाथि बोल्नुपर्यो भन्ने आँट दिएको छ। बलात्कृत महिलालाई जसरी अपराधको भागिदारी बनाइन्छ, त्यो गलत रहेछ भन्ने मान्यता बदल्न यसले सहयोग गरेको छ। यस घटनाले आवाज उठाउनेहरू लाजका पात्र होइनन्, सम्मानका पात्र हुन् भन्ने मान्यता स्थापित हुन सघाउ पुर्याउनेछ।

कतिपय मानिसहरु सौन्दर्य प्रतियोगिताले महिलाहरुलाई बस्तुको रुपमा उपयोग गर्न सिकाउँछ र यस्ता प्रतियोगिताले झन बलात्कार र हिंसा बढाउँछ भन्ने तर्क गर्छन् नि? तपाई कलाकार र मोडल पनि हो। सौन्दर्य प्रतियोगिताबारे तपाईको बुझाइ के हो?
म यो स्तरको अतिवादमा विश्वास गर्दिनँ। सौन्दर्य प्रतियोगिता महिलालाई उपभोग्य वस्तुको रुपमा हेर्न सिकाउने ‘मेकानिज्म’ हो भन्ने कुरामा म सहमत छैन। सौन्दर्य प्रतियोगितामा महिलाको व्यक्तित्व विकास हुन्छ, त्यसैले यो हुनैपर्छ भन्ने मान्यता राख्ने ब्यक्ति हुँ म।

सुन्दरता देखाउने, हेर्ने र रमाउने भनेको यी प्रकृतिक प्रदत्त कुराहरु हुन्। यस्तो प्रतियोगिताले व्यक्तित्व विकास हुन्छ। त्यहाँभित्र अवसर हुन्छन्। प्रतियोगीहरुले पहिचान पाउँछन्। देशलाई चिनाउने मञ्च पनि हो, यो। आयोजकले पनि समाजमा राम्रो योगदान दिइरहेको देखेका छौं।

बडी बिल्डिङ प्रतियोगितामा पुरुषले अंग प्रत्यंग देखाइरहेका हुन्छन्। पुरुषको राम्रो शरीर र राम्रो अनुहार महिलालाई राम्रो लाग्छ। के त्यसोभए यसलाई पनि उपभोक्तावादी संस्कृति भनेर खारेज गरिदिने? हामीले त्यसलाई ‘पुरुषहरु उपभोग्य साधनका रुपमा प्रयोग भए’ भनेका छैनौं। त्यसैले मेरो भनाइ के हो भने सुन्दर कुरालाई सुन्दरतामै सीमित राखौं।

सौन्दर्य प्रतियोगितालाई खारेज गर्नुभन्दा त्यहाँभित्र कसरी ‘सुशासन’ कायम गर्ने? अर्थात त्यसलाई कसरी सम्मानित र अपराध रहित बनाउन सकिन्छ, त्यतातिर ध्यान दिन थालौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .