इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु गाजामा युद्धविराम गर्न सहमत भएका छन्।
सोमबार राति (सेप्टेम्बर २९) वासिङ्टन डीसीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै उनले गाजामा शान्ति स्थापना गर्ने योजना स्वीकार गरेका हुन्।
भेटपछि भएको संयुक्त पत्ररकार सम्मेलनमा ट्रम्पले आफूले तयार पारेको २० बुँदे युद्धविराम योजना सार्वजनिक गरे।
जसमा उनले गाजामा युद्ध रोक्ने, सबै बन्धक रिहा गर्ने र गाजाको प्रशासन चलाउन अस्थायी बोर्ड स्थापना गर्ने प्रस्ताव राखेका छन्।
बोर्डको अध्यक्षता ट्रम्पले गर्नेछन् भने यसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि सामेल हुनेछन्।
यी हुन् ट्रम्पले तयार पारेका २० बुँदा:
१. तत्काल युद्ध अन्त्य- इजरायल र हमास सहमत भए भने गाजामा युद्ध तुरुन्तै रोकिनेछ।
२. इजरायल फिर्ता- सम्झौता भएपछि इजरायलले गाजाबाट बिस्तारै आफ्ना सेना फिर्ता गर्नेछ।
३. बन्धकहरूको रिहाइ- हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्धक (जीवित-मृत) रिहा गर्नेछ (यसमा नेपालका विपिन जोशी पनि पर्नेछन्)
४. कैदीहरूको रिहाइ- युद्धको अन्त्यमा इजरायलले गाजामा आजीवन कारावास भोगिरहेका २५० जना र १ हजार ७०० कैदी रिहा गर्नेछ।
५. शरीर आदानप्रदान- प्रत्येक मृत इजरायली कैदीबापत १५ जना मृत प्यालेस्टिनी कैदीको शव फिर्ता गरिनेछ।
६. गाजा आतंकवादमुक्त बनाउने- गाजाबाट सबै हमास अड्डा र हतियार हटाइनेछ।
७. प्रशासनमा हमास हुने छैन- हमास र अन्य मिलिसिया गाजा सरकारमा भाग लिने छैनन्।
८. अन्तरिम प्रशासन समिति- गाजाका लागि एक अस्थायी प्राविधिक समिति गठन गरिनेछ, जसमा योग्य व्यक्तिहरू रहेनछन्।
९. शान्ति बोर्ड- यो बोर्डको अध्यक्षता अमेरिकाका राष्ट्रपति ट्रम्पले गर्नेछन् र यसमा टोनी ब्लेयर र अन्य देशका नेता समावेश हुनेछन्।
१०. पुनर्निर्माण योजना- बोर्डले गाजाको विकास र सुधारको योजना र कोष प्रदान गर्नेछ।
११. मानवीय सहायता- गाजालाई तुरुन्तै पर्याप्त सहायता प्रदान गरिनेछ।
१२. विशेष व्यापार क्षेत्र- गाजामा विशेष व्यापार क्षेत्रहरू स्थापना गरिनेछ, जसले रोजगारी बढाउनेछ।
१३. जनताको स्वतन्त्रता- कसैलाई पनि गाजा छाड्न बाध्य पारिने छैन; जो चाहन्छ उसले भने छाड्न र फर्कन सक्छ।
१४. सुरक्षा बल- गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बलले सुरक्षा दिनेछ।
१५. प्रहरी तालिम- सुरक्षा बलले गाजा प्रहरीलाई तालिम र सहयोग गर्नेछ।
१६. सीमा सुरक्षा- इजरायल र इजिप्टसँगको सिमानामा सुरक्षा बलियो बनाइनेछ।
१७. शत्रुताको अन्त्य- हवाई हमला र गोलाबारी बन्द हुनेछ।
१८. मानव अधिकार सुनिश्चित- अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा सहायता र सुरक्षाको निगरानी गर्नेछन्।
१९. शान्ति वार्ता- इजरायल र प्यालेस्टाइनबीच शान्ति वार्ता सुरु हुनेछ।
२०. आगामी योजना- यो योजनाले गाजामा दिगो शान्ति, विकास र राम्रो जीवन ल्याउने लक्ष्य राखेको छ।
तर यसमा हमास सहमत हुन बाँकी छ। ट्रम्प र नेतन्याहुले हमासलाई सहमतिका लागि आग्रह गरेका छन्। युद्धिवराम गर्ने उक्त योजना स्वीकार नगरे हमासले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
गाजामा युद्धविराम र बन्धक रिहाइ नेपालका लागि पनि महत्त्वपूर्ण छ। किनभने पढ्न इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको कब्जामा छन्। तर उनको अवस्था अहिलेसम्म एकिन हुन सकेको छैन।
ट्रम्प र नेतन्याहुको सहमति र प्रस्ताव हमासले स्वीकार गरे चाँडै विपिनको अवस्था थाहा हुने अपेक्षा गर्न सकिन्छ।
हालै इजरायलले गाजा कब्जा गर्ने अभियान अघि बढाएपछि हमासले बिदाइ तस्बिर भन्दै बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो, जसमा विपिन पनि थिए।
Shares

प्रतिक्रिया