समाज


यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा कम क्षति

यस्तो छ १० वर्षको वर्षा र क्षतिकाे विवरण
यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा कम क्षति

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ६:१८, काठमाडौँ

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन्।

प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान गएको छ।

गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन्।

गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए।

यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन्।

भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६  घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन्।

यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो। सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो।

औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो।

सरकारले इलामलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो।

बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग  समन्वय तथा निर्देशन जारी भएको थियो।

यस्तो छ १० वर्षको विवरण
प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो।

यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो । यस्तै, २०७७ मा एक हजार १५ विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो।

त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा आठ सय ९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad