म्याग्दीको रघुगंगा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ।
रघुगंगा गाउँपालिका-७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ मा रहेको दरखोलामा वर्षातसँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असारदेखि अवरुद्ध भएको थियो।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार दरखोलामा पानीको सतह घटेपछि ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको हो।
दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडकमा बर्खायाममा यातायात अवरुद्ध हुने गरेको छ।
त्यसैगरी, राहुघाट नदीमा निर्माण भएका चिमखोला-राहुघाट-मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरेर मलाङको पहिरो पन्छाएपछि चिमखोला सुँदै घ्याँसीखर्क जोड्ने सडकमा यातायात सञ्चालन भएको हो।
म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको स्थानीय तहहरूले जनाएका छन्। रासस
Shares

प्रतिक्रिया