समाज


पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

नेपालखबर
साउन २६, २०८२ सोमबार ९:६, पर्वत

लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ।

भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन्। 

पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ। पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ। पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको स्थानीय बाबुराम जैसीले जानकारी दिए। 

केही वर्ष पहिलेदेखि सुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्तीनै दुर्घटनामापर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। 

गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो। पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ। यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ। 

गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ। अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिए। विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताए। 

वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad