समाज


अमलाचौरका १६ घरमा लिफ्टमार्फत् खानेपानी

अमलाचौरका १६ घरमा लिफ्टमार्फत् खानेपानी

नेपालखबर
असार १७, २०८२ मंगलबार १३:९, बागलुङ

तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आएकी बागलुङकाे बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग छिन्।

खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई। रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो।

बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ।

‘चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ’, उनले भनिन्, ‘अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियौँ, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ।’

खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ।

सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ। गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिइन्।

सानो बस्ती भएकाले खानेपानीमा निकै पछि परे पनि अहिले बल्ल लिफ्टमार्फत घरघरमा खानेपानी आएको छ । ३० लाख खर्चेर १०० मिटरभन्दा माथि बस्तीमा खानेपानी पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सागर अधिकारीले बताए। 

अधिकारीले अत्यन्तै खानेपानीको समस्या भोगेको गाउँ भएकाले १६ घरमा खानेपानीको धारा पुर्याउन रु ३० लाख खर्चिएको बताए। खानेपानी संस्था दर्तापश्चात विद्युत् महसुल भने गण्डकी प्रदेश सरकारले सहुलियतमा प्रदान गर्नेछ।

बाइस वर्षदेखि बजारमा व्यवसाय गर्दै आएको यदुनाथ सापकोटाले गाउँमा खानेपानीको समस्या देखेर आफूले सहर छाडेर खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनेर काम गरेको बताए। 

उपभोक्ता समितिका अध्यक्ष सापकोटाले भने, ‘खानेपानीका कारण २२ वर्षपछि म गाउँ फर्केँ, अन्य छिमेकीसमेत फर्कने आस छ, नगरपालिकाभित्रको विकसित वडामा खानेपानीले पछि परेको रुम्टा गाउँमा घरघरमै धारा आएको छ, अब त खानेपानी बोक्ने समस्या सदाका लागि अन्त्य भएको छ।’

स्थानीय डिलबहादुर सापकोटाले अहिलेको जमनामा पनि खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । गहिरी जोत्ने लिफ्ट खानेपानी योजनाअन्र्तगत १६ घरमा खानेपानी पुर्याइएको छभने अमलाचौर स्वास्थ्यचौकी नजिकैको धोलेचौर गाउँमा खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा पनि खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको हो।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त योजना अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर अधिकारीले जानकारी दिए। उक्त लिफ्ट खानेपानी योजनाका लागि दुई कार्यालयको झण्डै रु ३२ लाख खर्च हुनेछ।

उक्त खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा खानेपानी पुर्याउन मुहानबाट एक सय मिटरभन्दा माथि पानी तान्ने काम असारसम्म पुग्ने र आगमी आर्थिक वर्षको सुरुमै घरघरमा धारा पुर्याउने लक्ष्य खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad