समाज


पर्यटक र पूर्वाधारको पर्खाइमा रुघाचौर

पर्यटक र पूर्वाधारको पर्खाइमा रुघाचौर

नेपालखबर
माघ ३०, २०८१ बुधबार १३:३६, म्याग्दी

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ। 

म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो। समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य नाका हो।

यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सुर्यास्तको दृष्य अवलोकन गर्न सकिने धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

विशाल फाँट रहेको रुघाचौरको खर्कमा बर्खा याममा धवलागिरि गाउँपालिकाको मुना, दर, लुलाङ, लमसुङ र खोरीयाका बासिन्दाले गाईभैसी र भेडाबाख्राको गोठ लैजान्छन्। अन्य समय रुघाचौर सुनसान हुन्छ।

‘परापुर्वकालमा गोठालाहरुले ढोरपाटन–रुघाचौर–गुर्जा आउजाउ गर्न प्रयोग गरेको बाटो पहिचान गरेर गुर्जादेखि रुघाचौरसम्म पदमार्ग पनि बनाएका छौँ,’ उनले भने ‘ढोरपाटन आउने पर्यटकलाई रुघाचौरको बाटो भएर गुर्जा ल्याउन र गुर्जा आउने पर्यटकलाई ढोरपाटन लैजाने योजनाका लागि पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ खोजेका छौँ।’

रुघाचौर क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान पनि भएको वडा अध्यक्ष छन्त्यालले बताए। गुर्जा देखि चार घण्टा पैदलयात्रा गरेपछि रुघाचौर पुगिन्छ । रुघाचौरमा होटल र रेष्टुरेन्ट छैन्। खानेपानीको अभाव छ।

गुर्जा देखि रुघाचौर गुर्जाघाट हुदै ढोरपाटन घुमेर फर्किएका धवलागिरी गाउँपालिका–७ धारापानीका आस्विन खत्रीले रुघाचौर प्राकृतिक सौन्दर्यको खानी भएको बताए। आखै अगाडी देखिने हिमाल, खर्कहरुमा भेटिने वन्यजन्तु, पंक्षीहरु अवलोकन गर्न पाउँदा दंग परेको उनले बताए।

रुघाचौरमा अस्थायी भएपनि खानेबस्ने सुविधा र पदमार्गमा चिन्ह बनाउनुपर्ने खत्रीले बताए। रुघाचौरलाई ‘भर्जिन’ गन्तब्य बनाउन सकिने सम्भावना छ। रुघाचौरलाई ढोरपाटनको सहायक गन्तब्यको रुपमा विकास गर्नुपर्ने वडा अध्यक्ष छन्त्यालले बताए।

गुर्जाको दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा रु। १५ लाख बजेटबाट तीन किलोमिटर छ सय मिटर पदमार्ग निर्माण गरिएको पनि उनले बताए। 

यो पदमार्ग भएर गुर्जा र ढोरपाटनको गुर्जाघाट एकै दिनमा पुग्न सकिन्छ । हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र बन्यजन्तु यो पदमार्गको आकर्षण हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad