कला


एलिनालाई रचनाको खुलापत्र: दिदी! अब तपाईं मनबाटै हाँसेको हेर्न पाउँछु भन्ने आशा छ

एलिनालाई रचनाको खुलापत्र: दिदी! अब तपाईं मनबाटै हाँसेको हेर्न पाउँछु भन्ने आशा छ

रचना रिमाल र एलिना चौहान। तस्बिर : रचनाको फेसबुकबाट


नेपालखबर
माघ ३०, २०८१ बुधबार १३:५१, काठमाडौँ

विष्णु सापकोटासँग बिहे गरेको ९ महिनामै (माघ २९ गते) गायिका एलिना चौहानले सम्बन्ध विच्छेद गरेपछि खासगरी सांगीतिक वृत्तमा तरंग ल्याएको छ।

एलिनालाई सहकर्मी गायिकाहरूले आँटिलो निर्णय गरेको भन्दै प्रशंसा गरिरहेका छन्, सान्त्वना र सुझाव दिइरहेका छन्। 

यसै क्रममा गायिका रचना रिमालले पनि उनलाई खुलापत्र लेख्दै अबदेखि वास्तविक रूपमा खुसी भएको हेर्ने आशा व्यक्त गरेकी छन्।

‘विवाहपश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि दिदी तपाईं नेपाल नै आउनु है, यहीँ मिलेर काम गर्नुपर्छ भनेर मैले धेरैपटक आग्रह गरेकी थिएँ। त्यसपछि तपाईं फर्कनु पनि भयो, सबै राम्रै भइरहेको थियो। तर पनि हाम्रो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफूलाई नै पीडा महसुस हुन्थ्यो’, रचनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अन्ततः तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदी अब तपाईंलाई मुखले मात्रै होइन, मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरू खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुसी आफैँले स्थापित गर्ने हो।’ 

यस्तो छ रचना रिमालको पूरा पत्र-

प्रिय दिदी एलिना,

हाम्रो चिनजान त हामी सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामी थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौँ। हामीले सुरुवाती चरणमै केही सांगीतिक कर्ममा सहकार्य गर्न पायौँ। हाम्रो सहकार्य हुँदै गर्दा नै हामी दिदीबहिनीबीच एक अटुट सम्बन्ध बनिसकेको रहेछ।

हुन त झट्ट हेर्दा अरूको नजरमा हामीबीच प्रतिस्पर्धा र ईर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामी बीचमा खै के मिल्यो, त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केही सीमित व्यक्तिले नखोजेका भने होइनन्। तर हामी निरन्तर हाम्रो आफ्नो कर्ममा लागिरह्यौँ, एकअर्काको दु:खसुख साटिरहयौँ। हामी घन्टौँ फोनमा र भिडिओ कलमा हाँसेका छौँ ,रोएका छौँ।

दिदीको विवाह हुने कुरा सुनेर 'रचना जसरी नि आउनुपर्छ, अरू थाहा छैन' भनेर तपाईंले खबर गरेदेखि म आफैँमा एउटा छुट्टै खुसी थियो, उमंग थियो। बिहेको दिनमा एउटै कुरा मनमा थियो 'कतै दिदी अब नेपाल बाहिरै बस्ने त होइन', बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिएँ, तपाईंलाई अँगालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो।

विवाहपश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि 'दिदी तपाईं नेपाल नै आउनु है, यहीँ मिलेर काम गर्नुपर्छ' भनेर मैले धेरैपटक आग्रह गरेकी थिएँ। त्यसपछि तपाईं फर्कनु पनि भयो, सबै राम्रै भइरहेको थियो। तर पनि हाम्रो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफूलाई नै पीडा महसुस हुन्थ्यो।

अन्ततः आज (माघ २९ गते) तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदी अब तपाईंलाई मुखले मात्रै होइन, मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरू खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुसी आफैँले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदी!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad