समाज


मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको म्याद दोस्रोपटक थप

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको म्याद दोस्रोपटक थप

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८१ शुक्रबार १०:२१, तनहुँ

मुग्लिन-पोखरा सडक  योजना (पश्चिम खण्ड)  को म्याद दोस्रो पटक थप गरिएको छ। पृथ्वी राजमार्ग विस्तार जारी भइरहँदा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो। 

पश्चिम खण्डको म्याद आगामी २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो। पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो। 

दोस्रो पटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। हालसम्म यो खण्डमा ३४.९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ। हालसम्म २३.९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये ५.४५ किलोमिटर दुईतर्फी र १८.४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ। 

पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्छन्। यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन्। सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको जनाइएको छ। 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad