समाज


गाउँमा पुग्यो विकास, तर उपभोग गर्ने नागरिक छैनन्

बढ्दो बसाइँसराइले गाउँ रित्तिँदै गएकोमा बुढापाकालाई चिन्ता
गाउँमा पुग्यो विकास, तर उपभोग गर्ने नागरिक छैनन्

नेपालखबर
मंसिर १२, २०८१ बुधबार ७:१९, बागलङ

बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्। 

सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन्। 

शिक्षा, स्वास्थ्य, यातायात, विद्युतलगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका(५ बिहुँका डिलाराम पुनले बताए।  

एक दशकअगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पुर्‍याउने मान्छे नपाइने अवस्था आउको उनको भनाइ छ। बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उनले सुनाए।  

‘यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरू सबै शहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्’, पुनले भने, ‘युवा विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो। यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो।’

गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आउनु बताउँछिन्। दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने नपाइने उनको भनाइ छ। 

‘पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनुपर्थ्यो, खानेपानी ल्याउन घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ’, उनले भनिन्, ‘गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो।’ 

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँसराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको बताए। 

गाउँबाट धेरैजसो शिक्षा र स्वास्थ्यका लागि बसाइँसराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइरहेको र स्वास्थ्य क्षेत्र सुधार गरी रहेको प्रवक्ता भण्डारीले दाबी गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad