समाज


ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल

ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार १४:९, म्याग्दी

जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ। भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो।

शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गरेकी प्रतिभालाई मखमली फूलको अभाव खट्किएको छ। माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहनुभएकी उनको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो।

'कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल', ढुङ्गानाले भनिन्, 'तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो। मखमलीको माला नै नभएपछि मन हर्षित छैन। कति खोजे पनि भेटिएन।'

भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्यजस्तै बनेको मखमली फूल म्याग्दीका ग्रामीण भेगहरूबाट लोप हुँदै गइरहेको छ।

‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रसिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दमा तिहारको बेला प्रदेशबाट दाजुभाइ घरमा नआउँदाका पीडा समेटिएको छ। अहिलेका दिदीबहिनीलाई मालाका लागि मखमली फूल नपाइँदा निराश बनाएको छ।

दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ। कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ। यही फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दछन्। 

केही वर्षअघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ। मखमली फूल पाइन छाडेपछि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई थुङ्गे र सयपत्री फूल तथा स्थानीय मौसमी फूलको माला लगाइदिन थालेका छन्। 

नेपालीहरूका लागि तिहारको महत्त्व र मौलिकतासँग जोडिएको मखमली फूल हराउँदै जानुमा तापक्रम वृद्धिका कारण माटोमा अम्लीयपन बढ्नु र अनुकूलन हुने गरी यसको संरक्षण नगरिनु रहेको जानकारहरू बताउँछन्। पछिल्ला तीन वर्षयता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको भन्दै यसको संरक्षणमा अभाव देखिएको बेनीको न्युरोडमा पूजा तथा शृङ्गार पसल सञ्चालक टीकाराम आचार्यले बताए।

'संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ। मखमलीले नेपालीको सांस्कृतिक महत्त्व बोकेको छ। सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । दाजुभाइलाई यही फूल झै कहिल्यै नओइलाउनु भन्ने कामनासहित माला लगाइदिने परम्परा छ', आचार्यले भने। 

अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन्। मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी, गरधौली, लालुपातेलगायत फूल पनि देखिन छाडेका आचार्यले बताए। 

पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ। प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनका लागि प्लास्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताए। नझर्ने, नओइलाउने र वर्षौँसम्म रहिरहने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्ने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad