केही वर्षयता सहरमा मात्र हैन, गाउँघरतिर पनि देउसीभैलोले मौलिकता गुमाउँदै गएको छ। शास्त्रीय परम्पराअनुसार कात्तिकको कृष्णपक्षको औंसी अर्थात् लक्ष्मीपूजादेखि भैली खेल्न थालिन्छ।
भाइटीकापछि भने देउसी फलाकिन्छ। तर,सहरलाई यो कुराको के मतलब? तिहार सुरु भयो भन्नासाथ स्टेज नै बनाएर, ठूला माइक ठड्याएर चर्को स्वरमा देउसीभैलोको नाममा हल्ला गर्ने चलन छ।
यो उपक्रम अझै केही दिनसम्म रहने निश्चित छ। नेपाली मौलिक भैली गीतलाई द्वीअर्थी नेपाली र हिन्दी गीतले विस्थापित गरिदिएका छन्। शिलाकी जवानीदेखि पल्लारे साइँलोसम्ले। यस्ता गीतमा अवोध किशोरीहरूले कम्मर मर्काइरहेका छन्।
ध्वनी प्रदूषणको त कुरै छाडौँ, गाउँघरसम्म पनि बोक्न मिल्ने लाउडस्पिकर काँधमा हालेर देउसीभैलो टोली घुमिरहेका छन्। लाग्छ- हाम्रा चाडबाडको मौलिकता हराउँदै छ।
तर, सबैतिर त्यस्तो छैन। पोखराकै चोकचोकमा चर्को स्वरले देउसीभैलोका नाममा हिन्दी गीत गुञ्जिरहँदा यहाँका केही किशोरले भने सारङ्गीमा भैलो र देउसी भट्याएर मौलिकता जोगाउने जमर्को गरिरहेका छन्।
सारङ्गीमा भैलो र देउसी भट्याउनेहरू पोखरा-१६, बाटुलेचौरको झलकमान गन्धर्व सारंगीपाठशालामा पढ्नेहरू हुन्। अनि झलकमान तिनै हुन्, जसले नेपालको मौलिक बाजा सारङ्गीलाई संसारभर चिनाए। सारङ्गीमै सवाइ गाए। धेरैलाई रुवाए अनि हँसाए।
उनै त हुन्, जसले दिदीबहिनीको सवालमा आफ्नो चर्चित गीत हे बरैमा भनेका छन्-
दिदीले सोध्लिन् नि खै भाइ भन्लिन्
चोली घट्यो भन्दिए
बैनीले सोध्लिन् नि खै दाजु भन्लिन्
माइती घट्यो भन्दिए
झलकमान बाटुलेचौरमा जन्मे। उनका पूर्खा सारंगीरेटेरै जीविकोपार्जन गर्थे। सारंगीबोकेर गाउँगाउँ पुग्थे। समाचारको स्रोत नै नभएको त्यो बेला उनीहरू युद्धका कथा सुनाउँथे। लाहुरेका गाथा गाउँथे। सवाइ भन्ने यो परम्परा झलकमानसम्मै आइपुग्यो।
तर, बिस्तारै गाउँ डुल्ने र सारङ्गीबाटै जीविकोपार्जन गर्ने परम्परा पातलियो। बाटुलेचौरका गन्धर्वहरूले पनि नयाँ पेसा रोजे। वीणाको २९ भेदमध्ये एक सारंगीरेटेर देशविदेश घुमेका र रेडियो नेपालमै २ सय ५० भन्दा बढी गीत गाएका झलकमान स्वयं २०६० मंसिर ६ गते ५८ वर्षको उमेरमा अस्ताए।
आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, डाँफे चरी, अल्लारे नानी, राधा पियारी, खाँउ त भने, चाँचरी गीत, बाला जोवनजस्ता गीतका सर्जक नै ढलेपछि भने उनको योगदानबारे थोरबहुत चर्चा हुन थाल्यो।
झलकमानकै भान्जा धनबहादुर गायक जो आफैँ पनि सारङ्गी, मादल र अरबाजो बजाउँथे, उनले मामाको स्मृति र आफ्नो संस्कृतिको संरक्षण गर्न केही त गर्नुपर्छ भन्ने ठाने। उनकै अगुवाइमा २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगीसंरक्षण पाठशाला स्थापना भयो।
अहिले भान्जा धनबहादुर गायक पनि यो लोकमा छैनन् तर, उनले स्थापना गरेको पाठशालाले भने एकसे एक प्रतिभा जन्माइरहेको छ।
झलकमान गन्धर्व सारंगीपाठशालाका शिक्षक समीर गायकका अनुसार अहिले पाठशालामा १६ जनाले सारङ्गी, मादल र अरबाजोसहितका बाजा बजाउन सिकिरहेका छन्।
‘अहिले पोखरामा आयोजना हुने नेपाली मौलिक संस्कृति झल्काउने कार्यक्रममा उनीहरूले नै मादलसहितका बाजा बजाउँछन्। झलकमान गन्धर्व स्कुलका विद्यार्थीले गन्धर्व जातिको मौलिक संस्कृति सिक्दै छन्। गीत गाउँछन्। सारङ्गीमा सवाइ गाउँछन्। हामीले दसैँमा मालश्री गायौँ। तिहारमा हामी मादल र सारङ्गीमै देउसी भैलो गाउँदै छौँ,’ उनले भने,‘हाम्रो मौलिक बाजामा जसले साँच्चिकै देउसी भैलो सुन्न र हेर्न चाहनुहुन्छ। उहाँहरूले हामीलाई निम्तो दिनुभएको छ। चिनेजानको घरमा गएर भैलो खेल्यौँ, आज पनि टीका लगाएपछि देउसी खेल्न जाने हो।’
भिडिओ-
Shares

प्रतिक्रिया