समाज


बागलुङका ग्रामीण सडक अझै बन्द, स्थानीयलाई सास्ती

बागलुङका ग्रामीण सडक अझै बन्द, स्थानीयलाई सास्ती

नेपालखबर
असोज २८, २०८१ सोमबार १०:४०, बागलुङ

बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन्। वर्षाका कारणअसारदेखि अवरुद्ध भएका सडक दशैँमा पनि सञ्चालन नहुँदा समस्या भएको हो। 

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। 

दशैँअगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि खुलाउन नसकेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको उनले जानकारी दिए।

 ‘गाउँपालिकाभित्रका सबै सडक दशैँमा सञ्चालन गर्ने योजना थियो तर अविरल वर्षाका कारण केही सडक खुलाउन सकिएन। अब केही दिनमा सञ्चालन हुने गरी काम गर्छौँ’, उनले भने।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दशअघिको वर्षाले बडिगाडमा ठूलो क्षति पुर्‍याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकेको बताए। पालिकाले बर्खाका कारण अवरुद्ध बाटो खुलाउन ६० लाख रुपैयाँ विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकेको उनले बताए। 

गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्णरूपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ। 

स्थानीय चन्द्रकान्त बुढामगरले दशैँमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नुपरेको गुनासो गरे। साउन महिनामा पहिरोले सडकको ट्र्याक नै बगाएपछि यातायात सञ्चालन नहुँदा टाढाका आफन्तले सास्ती खेप्नुपरेको उनको भनाइ छ।

 ‘साउनदेखि नै समस्या थियो तर दसैँमा त समस्या समाधान होला सोचेका थियौँ, यही वेला वर्षाले धेरै ठाउँमा पहिरो गएर थप समस्या भयो। सडक नखुल्दा दशैँसमेत खल्लो भयो’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad