समाज


डेंगी लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

डेंगी लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८१ सोमबार ७:३८, गण्डकी

डेंगी सङ्क्रमण हुँदैमा नआत्तिन चिकित्सकले सुझाव दिएका छन्। अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने तर दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने उनीहरूले बताएका छन्।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगी सङ्क्रमणपछि​ एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने भएकाले प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउन र जथाभावी औषधी सेवन नगर्न सुझाव दिएका छन्।

उनले सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा आउने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए।

 ‘डेंगी सङ्क्रमण हुँदैमा आत्तिहाल्नुपर्दैन, डेङ्गुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधी सेवन गर्नु हुँदैन।’ 

कतिपयमा अवस्थामा  स्वास्थ्यमा जटिलता आउनसक्ने उनले बताए।

डेंगीबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको चिकित्सक प्रधानले बताए। डेंगी सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने बताइन्छ।

भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्न सुझाव दिइएको छ।

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेंगी सङ्क्रमण बढेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। 

डेंगीबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहँमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गुको संक्रमण बढी फैलिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad