समाज


डेंगीबाट गण्डकीमा २ महिनामा ७ जनाको मृत्यु

डेंगीबाट गण्डकीमा २ महिनामा ७ जनाको मृत्यु

नेपालखबर
असोज २३, २०८१ बुधबार ६:५७, गण्डकी

गण्डकी प्रदेशमा ​डेंगी सङ्क्रमणबाट हालसम्म सात जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा तीन पुरुष र चार महिला छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार डेंगीको कारण गत साउन १० गते तनहुँका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो। 

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीय पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। 

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार ७२६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए। 

उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगी सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ। पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। 

गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो। अधिकृत शर्माले गत जुलाईयता सङ्क्रमण दर बढ्दै गएको बताए। जुलाईमा ७२८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार ७२० जनामा डेङ्गु देखिएको उनले जानकारी दिए। 

तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार ५४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा सङ्क्रमणको पुष्टि भएको हो। तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार १४६, गोरखामा ६६४, बागलुङमा ५३९, स्याङ्जामा ४४३, म्याग्दीमा २१३, नवलपुरमा एक सय ८१, लमजुङमा १२० र मुस्ताङमा नौ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। 

असारदेखि कात्तिकसम्म डेंगी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन्। 

समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले सचेतना अपनाउनुपर्ने उनीहरूको सुझाव छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad