ad ad

समाज


कालीगण्डकी करिडोर: नियन्त्रण गर्नै नसकिने ठाउँबाट खस्न थाल्यो पहिरो

कालीगण्डकी करिडोर: नियन्त्रण गर्नै नसकिने ठाउँबाट खस्न थाल्यो पहिरो

नेपालखबर
साउन २७, २०८१ आइतबार ९:३४, म्याग्दी

म्याग्दीको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ।

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी(जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ।

स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम-सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताए।

‘सात–आठ सय मिटरमाथिको भिरपाखो हुँदै सडकमा पहिरो खस्न थालेको छ’, उनले भने ‘पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन।’

पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ। शनिवार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ। मुस्ताङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ।

दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुरिएको थियो । यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए।

यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .