रोजगारीको सिलसिलामा कुवेत पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।
आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुर्याइएकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेकी थिइन्।
उनको आग्रहपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तर्राष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेतलगायतका संस्थाको पहलमा उनको उद्धार भएको हो।
कुवेतबाट नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छन्।
खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका छन्।
करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन्।
दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताइन्। रासस
Shares

प्रतिक्रिया