समाज


असिनाले दुई करोडको काँक्राको बीउ नष्ट

असिनाले दुई करोडको काँक्राको बीउ नष्ट

रासस
जेठ १३, २०८० शनिबार १४:१९, पर्वत

पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ।

असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन्। उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो। 

बीउ उत्पादनबाट बर्सेनि रु दुईदेखि रु दुई करोड १० लाखसम्म भित्र्याउँदै आएको सो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिइन्। यहाँका कृषकले दुई वर्षअघि सात टन बीउ उत्पादन गरेका थिए। त्यसबाट रु दुई करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष रु एक करोड २३ लाख भित्र्याएका थिए।

सो गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बीउ उत्पादन हो। 'हिउँदभरि गरेको दुःख  क्षणभरमै सखाप बनाइदियो', नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भनिन्, 'मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छौं।'

उनले काँक्राको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गरिन्। ठूलो आम्दानी हुने भए पनि स्थानीयवासीले काँक्रा खेतीका बीमा भने गरेका छैनन्।  समूहका अध्यक्ष पाठकले दुई वर्षअघि एक सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गरेकामा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गरिन्।

त्यो बेला प्रतिकिलो बीउको मूल्य रु तीन हजार रहँदा उनलाई काँक्राको बीउबाट रु पाँच लाखभन्दा बढी कमाई भएको थियो।

गत वर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बीउ बनेन। बीउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै रु चार लाख आम्दानी गरेकी पाठकले यस वर्ष क्राँक्राबाट एक रुपैयाँको पनि आम्दानी गर्न नसकेको बताइन्। पाङराङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन गर्ने साना ठूला समूह निर्माण गरिएका छन्।

स्थानीय नारायणस्थान बीउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ७० क्विन्टलसम्म बीउ उत्पादन गर्दै आएको थियो। समूहमा आबद्ध ७२ कृषकलाई असिनाको क्षतिले चिन्तित बनाएको छ।

कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा रु एक करोड २३ लाखको काँक्राको बीउ तयार भएकामा यस वर्ष पूरै असिनाले नष्ट गरिदिएको थियो। क्षतिपूर्तिका लागि पहल भइरहेको उनको भनाइ छ। यहाँका कृषकले काँक्राको बीउ उत्पादनबाट घटीमा रु एक लाखदेखि बढीमा रु २० लाखसम्म एउटा घरमा भित्र्याउने गरेका छन्।

माघमा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने पाँच महिनामा एउटै परिवारको मुख्य आम्दानी हुँदै आएको छ। 

कृषकले काठमाडौँको कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन्। एक किलो बीउको रु तीन हजारका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन्।  काँक्राको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नरहेको स्थानीय कृषक मानबहादुर भुसालको दाबी छ।

नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्राको बीउको माग छ। मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad