ad ad

समाज


जब हेलिकोप्टर फुटबल चलिरहेको मैदानमा ल्यान्ड भयो!

आक्रोशित स्थानीय युवाद्वारा पाइलट पनि कुटिए
जब हेलिकोप्टर फुटबल चलिरहेको मैदानमा ल्यान्ड भयो!

फुटबल भइरहेका बेला खेल मैदानमा अवतरण भएको हेलिकोप्टर। तस्बिर सौजन्य : अर्जुन काफ्ले/स्याङ्जा


नेपालखबर
माघ ५, २०७९ बिहिबार १६:५७, पोखरा

स्याङ्जाको वालिङ नगरपालिका ८ को खेल मैदानमा बिहीबार ‘प्रथम वालिङ गोल्डकप प्रतियोगिता चलिरहेको थियो। 

क्यामरुनी टोली र वालिङ रातोबीचको अन्तिम सेमिफाइनल हेर्ने दर्शक पनि खचाखच थिए। 

खेलको पहिलो हाफ चलिरहेका बेला आकाशमा एकाएक हेलिकोप्टर देखियो। 

दर्शकदीर्घामा रहेकाहरुले आकाशतिर आँखा लगाउन नपाउँदै हेलिकोप्टर खेल मैदाननजिकै  आइपुग्यो। 

हेलिकोप्टर आइपुगेपछि बाक्लो धुलो उड्यो। मैदानमा  खेल्दै गरेका खेलाडीहरु लाखापाखा लागे। ९ एन–एएलएक्स विमान खेलमैदानमै अवतरण गर्‍यो।

‘पहिलो हाफको खेल चलिरहेको थियो, अचानक हेलिकोप्टर आएर बस्यो,’आयोजक वालिङ युवा क्लबका अध्यक्ष एलबी ज्वारचनले टेलिफोनमा भने,‘खेल भइरहेका बेला मैदानबीचमा ल्याण्ड गर्दियो। खेलाडीहरु आफैँ साइड लागे।  यो पाइलटको ठूलो गल्ती हो। धन्न केही भएन।’

खासमा वालिङ नगरपालिका-९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए। चालक थिए, प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोल। हेलिकोप्टर ल्याण्ड भएसँगै आयोजक र खेलाडीहरु आक्रोशित बने। 

उनीहरुले क्याप्टेन डंगोलमाथि हातपात गरे। स्थानीयको  कुटाइबाट क्याप्टेन डंगोलको नाक र मुखबाट रगत निस्कन पुग्यो। 

डंगोलले यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको जवाफ दिएको क्लबका अध्यक्ष ज्वारचनले बताए। 

वालिङ नगरपालिका-८ का वडाध्यक्ष दामोदर तिवारीले पनि हेलिकोप्टरले अक्षम्य गल्ती गरेको  जिकिर गरे। खेल हुँदाहुँदैको मैदानमा हेलिकोप्टर झार्नु गम्भीर लापर्बाही भएको उनको भनाइ छ। 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार हेलिकोप्टरले त्यस ठाउँमा अवतरण गर्ने जानकारी प्रशासनलाई गराएकै थिएन। 

‘कतै समन्वय छैन, त्यो आकस्मिक अवतरण पनि होइन, खेल चलिरहेको मैदानमा झार्नु ठूलो गल्ती हो,’,उनले भने,‘मैले कारबाहीका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानाकारी गराएको छु।’ 

उनले हेलिकोप्टर वालिङ ल्याउने युवालाई पनि कारबाही गरिने बताए। पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार हेलिकोप्टरलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उडान र अवतरण गर्ने अनुमति दिइएको हुन्छ। 

‘घटनाबारे स्याङ्जाका सिडिओले जानकारी गराउनुभएको छ,’,उनले भने, ‘हामी  सम्बन्धित कम्पनी र पाइलटसँग त्यसबारे जानकारी लिन्छौँ, कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’

हेलिकोप्टरमा पुगेका एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। 

फुटबल भइरहेका बेला खेल मैदानमा अवतरण भएको हेलिकोप्टर। तस्बिर सौजन्य : अर्जुन काफ्ले/स्याङ्जा

पक्राउ पर्नेमा वालिङ नगरपालिकाका युवा विनोद गैरे रहेका छन्। उनी त्यही हेलिकोप्टरमा वालिङ पुगेका थिए। 

‘वालिङ गोल्डकप चलिरहेको बेला हेलिकोप्टर आएर बसेछ। अरु दुर्घटना त भएको छैन तर स्थानीय र प्रहरीसँग समन्वय नगरी एकैपटक आएको रहेछ। ठूलो दुर्घटना जोगिएको छ’, प्रजिअ क्षेत्रीले नेपालखबरसँग भने। 

हेलिकोप्टर बसेपछि दुई पक्षबीच कुटाकुट भएको थियो। तर कुटाकुटलगत्तै डंगोलले हेलिकोप्टर पोखरा लगिसकेका छन्। 

बिनाअनुमति गएको हेलिकोप्टका कारण मानवीय दुर्घटनासमेत निम्तिने सक्ने अवस्था ल्याएको भन्दै कारबाहीका लागि रिपोर्ट गरिएको छ। 

नागरिक उड्डयन प्राधिकरणले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको जानकारी प्रशासनलाई दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .