समाज


सिन्धुलीको एसबीआई बैंक घरधनीकै योजनामा लुटिएको खुलासा, ७ जना पक्राउ

सिन्धुलीको एसबीआई बैंक घरधनीकै योजनामा लुटिएको खुलासा, ७ जना पक्राउ

बरामद रकम र सामान


नेपालखबर
माघ २, २०८२ शुक्रबार १३:४९, काठमाडौँ

सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ।

बैंक लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ। बैंक लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरेको सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले नेपालखबरलाई जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० का ४९ वर्षीय भागवत सिंह, सिन्धुलीको घ्याङलेख गाउँपालिका २ का ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर महानगरपालिका २ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षका विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका २ का ४४ वर्षीय छविलाल स्या्तान र १६ वर्षका किशोर छन्। 

उनीहरूले बैंकबाट लुटपाट गरेको मध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ प्रहरीले बरामद गरेको छ। यस्तै लुटपाटमा प्रयोग भएका २ थान खुकुरी, प्लास्टिकको पेस्तोल, टेप, नकाब ४ थान, पन्जा एक थान प्रहरीले बरामद गरेको छ।

असोजमै बनाएका थिए बैंक लुट्ने योजना

पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले गत असोजमै बैंक लुट्ने योजना बनाएको खुलेको छ।

पुस २९ गते राति साढे ७ बजेको समयमा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र बैंकमा रहेका कर्मचारीलाई नियन्त्रणमा लिएको र खुकुरी समेत प्रहार गरेर घाइते बनाएको भन्दै प्रहरीलाई सूचना आएको थियो। 

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीबाट खटिएको टोली घटनास्थलमा पुग्दा २ वटा कोठामा बैंकका कर्मचारीहरू र बैंकको सुरक्षा गार्डलाई हातखुट्टा बाँधी तथा मुखमा टेपसमेत टाँसिएको अवस्थामा फेला परेका थिए। 

उनीहरूलाई तत्काल उद्धार गरेर प्रहरी फरार भएका लुटेराको खोजीमा लागेको थियो। भागेर जानसक्ने सम्भावित नाकामा प्रहरी तैनाथ गरिएका थिए। 

घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो। 

प्रहरीले स्थानीयको समेत सहयोगमा शंकास्पद स्थानमा व्यापक खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारेको थियो। 

प्रारम्भिक सोधपुछमा उनीहरूले अपरिचित ६ जनाले विवाहका लागि भनी उक्त टाटा सुमो काभ्रे जिल्लाको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको र निज व्यक्तिहरू केही समयपश्चात् आउने भएकाले पर्खी बसेको जानकारी गराएका थिए। 

शंकास्पद देखिएपछि प्रहरीले तत्काल सुमो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। 

अनुसन्धान तथा खोजतलास गर्ने क्रममा पुस २९ गते राति जंगलको विभिन्न स्थानमा बोरामा लुकाई राखेको र छरपस्ट अवस्थामा १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको थियो। 

पुस ३० गते बिहान सिन्धुली घ्याङलेख गाउँपालिका १ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी खानतलासी गरेको थियो। 

उनीहरूको साथबाट प्रहरीले ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला पारेको थियो। उनीहरूले बैंक लुटपाटमा संलग्न भएको स्वीकार गरेका थिए। 

उनीहरूले दिएको बयानका आधारमा लुकाईछिपाई राखेको स्थानबाट थप ८३ लाख ३५ हजार रुपैँयाँ बरामद भएको थियो।

घटनामा प्रयोग भएको नकाब, पञ्जा, नक्कली प्लास्टिकको पेस्तोललगायत घटना हुँदा उनीहरूले प्रयोग गरेका कपडासमेत बरामद भएको थियो।

तेस्रो प्रयासमा लुटपाट

पक्राउ परेका व्यक्तिहरूको प्रारम्भिक बयान तथा प्राविधिक विश्लेषणबाट बैंक लुटपाटमा चतुरमान बज्यु र बैंक रहेको घरधनी समेतको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

घरधनी छविलाल स्याङ्तानलाई तत्काल पक्राउ गरेको प्रहरीले माघ १ गते चतुरमान बज्युलाई घ्याङलेखकै जंगल आसपास लुकेर बसेको अवस्थामा फेला पारेको थियो। 

पक्राउ परेका घरधनी छविलाल र चतुरमानले गत असोजमै बैंक लुट्ने योजना बनाई सोहीअनुसारको तयारी तथा सूचना संकलन गरेको बयान प्रहरीलाई दिएका छन्।

पुस २३ गते बैंक लुट्न भनी काठमाडौँबाट २ वटा मोटरसाइकल भाडामा लिई हाल पक्राउ परेकामध्ये ४ जना बैंकमा पुगेका थिए। 

त्यस दिन परिस्थितिअनुकूल नभएको भन्दै बैंक लुट्ने योजना विफल भएको उनीहरूको बयान छ।

पुस २८ गते उक्त बैंक लुट्ने योजना सहित काठमाडौँको कोटेश्वरमा जम्मा भएका थिए। तर त्यस दिन जम्मा हुँदाहुँदै ढिला भएकाले पुस २९ गते फेरि कोटेश्वरमा जम्मा भएर सार्वजनिक गाडीमा बनेपासम्म पुगेका थिए। 

बनेपाबाट टाटा सुमो भाडामा लिई घ्याङलेखतर्फ गएको पाइएको डीएसपी सुवेदीले बताए। 

बैंक लुटपाट गर्न घरधनी छविलाल स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन, सूचना प्रदान र निर्देशन दिएको खुल्न आएको पनि उनले दाबी गरे। 

पुस २९ गते साँझ पक्राउ प्रतिवादीहरूले एसबीआई बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई शाखा प्रमुखलाई प्लास्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको ताल्चा खोल्न लगाएका थिए। 

बैंकमा भएको पैसा बोरा तथा झोलामा हाली हिँडेका उनीहरू प्रहरी र स्थानीयले खोज्न थालेपछि पैसा जंगलतिर लुकाएर भागेका थिए। 

बैंकको शाखा कार्यालय घ्याङलेख सिन्धुलीका अनुसार बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटपाट भएको छ। 

लुटपाटमा संलग्नलाई अनुसन्धान गरी कारबाही अगाडि बढाउन जिल्ला अदालत सिन्धुलीले पहिलोपटक ५ दिनको अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad