समाज


रानीकोटदेखि नगकोटसम्म नयाँ वर्ष २०२६ को उल्लास, पर्यटन र होटल व्यवसायी उत्साहित

रानीकोटदेखि नगकोटसम्म नयाँ वर्ष २०२६ को उल्लास, पर्यटन र होटल व्यवसायी उत्साहित

नेपालखबर
पुस १७, २०८२ बिहिबार ७:४५, काठमाडौँ

आज अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन। भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन्।

विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन्। भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन्। केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र वडा नंं ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन्।

पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न यहाँ स्वदेशी पर्यटकको घुइँचो लागेको बताए।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ।

पर्यटन व्यवसायी बकेले भने, ‘रानीकोटबाट सूर्योदयसँगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ।

पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ। अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, व्यवसायीहरू उत्साहित छौँ।’

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि रानीकोटमा पर्यटक आवागमन सहज भइरहेको छ।

अंग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले सुनाए, ‘पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो। यहाँबा देखिने हिमाल र सूर्योदयले १२ महिना पर्यटकको आकर्षण बढ्न थालेको छ, नयाँ वर्षमा त झन् खचाखच हुने गरेको छ।’

‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथ पनि आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताउँछन्। अंग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उनले बताए।

रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल हुन थालेको बताए। पिकनिकदेखि एकरात बस्न आउने पारिवारिक जमघट, विभिन्न निकायका कार्यक्रमलगायत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनको भनाइ छ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अंग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका छन्। २०२५ को बिदाइ गर्दै २०२६ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटका आकर्षण थप बढाएको होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माक बताउँछन्। 

उनी भन्छन्, ‘विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप पनि उस्तै छ। अंग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन्।’

पछिल्लो समय सामान्यदेखि फाईभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाप बढेपछि व्यवसायीहरू उत्साहित छन्। यहाँ थप होटल खुल्ने क्रम पनि जारी छ। होटल पिसफुल नगरकोटका सञ्चालक रामशंकर ध्वजु चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा निकै खुसी थपेको बताउँछन्। 

यसपटक विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको उनले जानकारी दिए।

होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने भन्छन्, ‘मैले होटल क्षेत्रमा काम गरेको २५ वर्ष भयो। कोरोनापछि होटल व्यवसाय अब त उठ्न सकिँदैन कि भन्ने लागेको थियो, तर नेपाली र अंग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै सबै होटल बुक हुन थालेका छन्। स्वदेशी पर्यटकको आगमन पनि बढ्दै गएको छ। यसले उत्साह थपिएको छ, अब केही हुन्छ भन्ने आशा जागेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad