समाज


एनआरएनए अमेरिकाले भन्यो : खेलकुदमन्त्री बब्लु गुप्तालाई हामीले बोलाएका छैनौँ

एनआरएनए अमेरिकाले भन्यो : खेलकुदमन्त्री बब्लु गुप्तालाई हामीले बोलाएका छैनौँ

युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्ता (फाइल फोटो)


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ९:४६, काठमाडौँ

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका  (एनआरएनए एनसीसी यूएसए) ले आफ्नो नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै यसमा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। 

यस क्रममा ‘एनआरएनए एनसीसी यूएसए’ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको जानकारी पनि दिएको छ। 

बिहीबार जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।’

यस्तो छ पूरा विज्ञप्ति:

गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी यूएसए) को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए एनसीसी यूएसएको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णयबिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम, ईआईएन नम्बर तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्।

एनआरएनए एनसीसी यूएसए संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो। संस्थाको नाम, ईआईएन तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ। संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए एनसीसी यूएसएसँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ।

यस सन्दर्भमा एनआरएनए एनसीसी यूएसएले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ। साथै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।

यसै सन्दर्भमा एनआरएनए एनसीसी यूएसएको आधिकारिक र स्पष्ट धारणा निम्नानुसार सार्वजनिक गरिन्छ :

• एनआरएनए एनसीसी यूएसएको कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध छैन।

• एनआरएनए एनसीसी यूएसएको आधिकारिक स्वीकृतिबिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फनड्राइजिङ) वा गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिनेछन्।

• संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा एनआरएनए एनसीसी यूएसए को साख प्रयोग गरी गरिएका कुनै पनि गतिविधिहरूका लागि सम्बन्धित व्यक्ति वा समूह स्वयं पूर्ण रूपमा जिम्मेवार हुनेछन्।

• एनआरएनए एनसीसी यूएसएको नाम र पहिचानको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

• एनआरएनए एनसीसी यूएसएले कुनै पनि अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिहरूका यात्रा, आवास वा अन्य खर्चहरूको जिम्मेवारी लिँदैन।

• यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरूसम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइनेछ।

• एनआरएनए एनसीसी यूएसए सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम, तथा समुदायका सदस्यहरूलाई यस्ता अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि मात्र संस्थाका मान्य माध्यमहरूमा भर पर्न अनुरोध गर्दछ।

सन्देश उप्रेती, प्रवक्ता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad