बिग्रिएको गाडी मर्मत गर्न धेरै खर्च लाग्ने भएपछि बर्दियामा एकजना ड्राइभरले आफ्नै गाडीमा आगो लगाएका छन्।
सोमबार बिहान २ बजेको समयमा बर्दियाको मधुबन नगरपालिका-०४ बसन्ता स्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकखण्डमा गाडी जलाइएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडीमा बीमा दाबी गर्ने नियतसहित ड्राइभरले नै आगो लगाएको खुलेको हो।
इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा गाडीको पूरै भाग आगोले जलेको भेटिएको हो।
प्रहरी घटनास्थलमा कुनै ब्यक्ति थिएनन्। तर उक्त घटनाको अनुसन्धान गर्ने क्रममा सवारी साधनको चालक बर्दिया मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरी रहेको खुलेको छ।
प्रहरीले सोधपुछ गर्दा चौधरीले बीमा दाबीका लागि आफैंले गाडीमा आगो लगाएको स्वीकारेका छन्।
प्रहरीका अनुसार माघ २० गते उक्त फोर्स गाडी बिग्रिएकाले मर्मतको लागी ग्यारेजमा लगिएको थियो। तर मर्मत गर्न बढी रकम लाग्ने भएपछि चालकले गाडीमा आगो लगाई बीमा दाबी गर्ने योजना बनाएको खुलेको छ।
उक्त योजनाअनुसार चौधरीले माघ २९ गते राति ८ बजे अर्को जिपले तानेर मधुबन नगरपालिका-४ वसन्तास्थित एकान्त जंगलमा लगेका थिए।
त्यसपछि उक्त गाडी माचड भुरिगाउँ जोड्ने पक्की सड्कको पश्चिम किनारामा ल्याएर चौधरीले सोमबार बिहान २ बजे डिजेल छर्किएर आगो लगाएको प्रहरी पत्ता लगाएको छ।
पक्राउ परेका चौधरी गाडीमा आगो लगाएपछि घरतर्फ गएका थिए। तर पक्राउ गरिएपछि चौधरीले बीमा दाबीकै लागि आफैंले आगो लगाएको स्वीकारेका छन्।

Shares

प्रतिक्रिया