समाज


गाइजात्राको अवसरमा बागमती सरकारले दियो बिदा

गाइजात्राको अवसरमा बागमती सरकारले दियो बिदा

नेपालखबर
साउन २२, २०८२ बिहिबार १४:३९, हेटौँडा

बागमती प्रदेश सरकारले आउँदो साउन २५ गते आइतबार पर्ने गाइजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भएको छ। 

मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार गाइजात्राको अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिइन्। निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, र निजी संघसंस्थाहरू सो दिन बन्द रहनेछन्।

प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा साउन २५ गते गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ।

बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० अनुसार गत २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद बैठकले गाइजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा गाइजात्रा पर्व सार्वजनिक बिदा क्यालेन्डरमा समेत समावेश गरिएको हो।

गाइजात्रा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रुपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीकस्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने परम्परा रहेको छ।

गाइजात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु, अर्थात् जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र शुक्ल प्रतिपदा पर्दछ। यस पर्वले हास्यव्यंग्य, समाजिक सन्देश र सांस्कृतिक विविधता झल्काउने भएकाले यसले प्रदेशमा विशेष महत्व राख्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad