मकवानपुरको भीमफेदी गाउँपालिका ८ बगुवास्थित बागमती नदीले दुईवटा सवारी साधन बगाएको छ।
आज बिहानपख परेको अविरल वर्षाका कारण आएको बाढीले तेल ट्यांकर र एउटा डब्बा ट्रक बगाएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बाराको अमलेखगञ्जबाट डिजेल बोकेर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भइ खोलामा खसेको थियो।

ट्यांकर चालक वीरगन्ज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतोले भने गाडी खस्नुअघि नै हामफालेर ज्यान जोगाएका छन्।
त्यसैगरि वीरगन्ज भन्सारबाट सामान बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि बागमती नदीले बगाएको छ। खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा बाढीले गाडी बगाएको प्रवक्ता अर्यालले जानकारी दिए।
उनका अनुसार दुबै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन।
यसअघि गएराति खसेको पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्याङडाँडामा ढुंगासहितको पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको हो। पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया