समाज


डढेलोको झिल्कोले राक्सिराङमा तीन घर खरानी

डढेलोको झिल्कोले राक्सिराङमा तीन घर खरानी

नेपालखबर
चैत २३, २०८१ शनिबार १४:५१, हेटौँडा

जंगलबाट सुरु भएको आगलागीले मकवानपुरको राक्सिराङ गाउँपालिकाका तीन वटा वडामा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। शुक्रबार (हिजो) हावाहुरीसहित फैलिएको आगोका झिल्को घरमा सल्किँदा तीन घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राक्सिराङ गाउँपालिका–७ स्थित चरिमारामा जंगलनजिकै रहेको सुब्बा प्रजा र चन्द्र प्रजाको काठको कच्ची खरले छाएको घरमा आगो सल्किँदा लत्ता कपडा, भाँडावर्तन, अन्नपात र नगदसहित घर पूर्णरूपमा जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिए। 

सुब्बा प्रजाको घरमा नगद २० हजारसहित कुल १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने चन्द्र प्रजाको घरमा पनि सामान सहित सोही बराबरको क्षति भएको डिएसपी अर्यालले बताए।

त्यसैगरी, राक्सिराङ गाउँपालिका–४ तार्सिकोट (रेना) मा बस्ने रामबहादुर थिङको घरमा पनि जंगलको आगोले क्षति पुर्‍याएको छ। घरभित्र रहेको मकै, कोदो, चामल, लत्ताकपडा, भाँडाकुँडा र सोलार प्यानल जलेर पूर्णरूपमा नष्ट भएको छ भने उक्त घटनाबाट अनुमानित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

यस्तै, राक्सिारङ गाउँपालिका–५ चंगरङमा रोशन प्रजाको काठको कच्ची घरमा आगो सल्किएको हो। आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र काठपात नष्ट हुँदा करीब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

तीनवटै घटनामा मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। सबै स्थानमा स्थानीयको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार यी घटनाहरू क्रमशः प्रहरी चौकी कान्द्राङ, गिंगु र चैनपुरबाट ६ देखि ३० किलोमिटरको दूरीमा पर्दछन्। 

प्रहरी र स्थानीय बासिन्दाले जंगलमा आगो फैलन नदिन सावधानी अपनाउन र सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad