बागमती प्रदेशको सरकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिव रवि थापाले 'सुसाइट नोट' लेखेर आत्महत्या गरेको एक हप्ता बित्यो।
गत सोमबार दिउँसो विष सेवन गरी अवस्थामा फेला परेका उनको शहिद मेमोरियल अस्पताल, कलंकी काठमाडौँमा उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो।
उनले विष सेवन गर्नुअघि लेखेको तीन पानाको 'सुसाइट नोट' पनि प्रहरीले फेला पारेको थियो।
सुसाइट नोटमा सहकारीका गिरोहहरुले मर्न बाध्य बनाएको कारण आत्माहत्या गर्नुपरेको उल्लेख गरिएको थियो। आफू कार्यरत मन्त्रालय र मन्त्रीले राम्रो काम गरेकै कारण सहकारी गिरोहरुले फसाउनका लागि रचेको जालमा आफूलाई पारिएको र जसका कारण मर्न बाध्य भएको उल्लेख गरिएको थियो।
स्वकीय सचिव थापाको मृत्यु भएको एक साता बित्दा पनि न ती फोन रेकर्ड गरेर सार्वजनिक गर्ने भनिएका व्यक्ति पक्राउ परेका छन्, न त मन्त्रीको सचिवालयको व्यक्ति भन्दै सोही रेकर्डमा बोलिरहेका धादिङका कांग्रेस नेता राजु बर्तौलालाई नै प्रहरीले पक्राउ गरेको छ।
यही फागुन ११ गते आइतबार उक्त अडियो रेकर्ड सार्वजनिक भएपछि सहकारी मन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धादिङमा बर्तौलालाई पक्राउ गरी आवश्यक कारबाही गर्न मौखिक सिफारिस गरेका थिए।
तर, प्रहरीलाई कुनै पनि कारबाहीको प्रक्रिया अघि बढाउन लिखित निवेदन आवश्यक पर्ने भन्दै बर्तौलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।
मन्त्रीको निर्देशनपछि प्रहरीको सम्पर्कमा भने राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए।
उनका अनुसार पीडितपक्षले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका कारण धादिङ प्रहरीले कुनै पनि छानबिन सुरु गरेको छैन।
‘पीडितपक्षले यहाँ (धादिङ प्रहरी कार्यालय) मा उजुरी दायर गराउनुभएको भए हामीले छानबिन सुरु गर्थ्यौँ,' हमालले भने, ‘परिवारले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिनुभएको रहेछ। त्यसैले हामीले कसैलाई नियन्त्रणमा लिने अथवा हिरासतमा राख्ने गर्ने अधिकार छैन। जिल्ला प्रहरी परिसर काठमाडौँबाट पक्राउ पुर्जी आयो भने हामीले पक्राउ गर्ने हो।’
डीएसपी हमालका अनुसार जिल्ला प्रहरी कार्यालय धादिङमा पक्राउ पुर्जी आएको छैन। जसकारण धादिङका राजु बर्तौलालाई प्रहरीले पक्राउ गरेको छैन। प्रहरीका अनुसार बर्तौला धादिङ प्रहरीको निरन्तर सम्पर्कमा भने छन्। सोधपुछका लागि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भैरहेको डीएसपी हमालको भनाइ छ।
यता, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिलराज बोहोरा भने शवको पोष्टमार्टम रिर्पोट कुरिरहेको बताउँछन्। रिर्पोट आएपछि थप अनुसन्धान सुरु गरिने उनले जानकारी दिए।
उनका अनुसार अडियो रेकर्ड सार्वजनिक गर्ने व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया चलिरहेको छ। पीडितपक्षले घटनामा संलग्न रहेका व्यक्तिलाई कारबाही गर्न माग गर्दै उजुरी दिएका कारण अनुसन्धानबाटै सबै कुरा खुल्ने उनले बताए।
‘किटानी जाहेरी दिइएको भए हामीले तुरुन्तै पक्राउ गर्न मिल्थ्यो,’ प्रवक्ता बोहोराले नेपालखबरसँग भने, ‘दोषिमाथि कानुन बमोजिमको कारबाही गरिपाउँ भनेर उजुरी दिनुभएको छ। जसकारण यस घटनामा को दोषि? भन्ने कुरा पत्ता लगाउन हामीले अनुसन्धान थालेका छौं।’ उनका अनुसार आज या भोलिसम्म पोष्टमार्टम रिर्पोट आइपुग्नेछ।
सुमेरु सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको पूर्व सचिव विनोद आचार्य, कांग्रेस धादिङका नेता राजु बर्तौला र स्वकीय सचिव थापाबीच करिब १२ मिनेटको फोन संवाद अघिल्लो साता सार्वजनिक भएको थियो।
जसमा सुरुमा मन्त्रीका स्वकीय सचिव थापा र सहकारीका पूर्व सचिव आचार्यबीच करिब २ मिनेट कुराकानी भएको सुन्न सकिन्थ्यो। त्यसपछिका १० मिनेटभन्दा लामो समय बर्तौला र आचार्यबीच कुराकानी भएको अडियो रकर्डमा सुन्न सकिन्थ्यो।
आफूले यसरी समस्याग्रस्त सहकारीको फाइल कर्मचारीलाई भन्न लगाएर सिस्टमबाटै हटाइदिने बिषयमा गरिएको रेकर्ड बाहिरिएपछि स्वकीय सचिव थापाले बिष सेवन गरेको बताइएको छ।
यद्यपि, उनको साथमा फेला परेको सुसाइट नोटमा आफूलाई सहकारी गिरोहले फसाएको उल्लेख गरेका थिए। सार्वजनिक गरिएको रेकर्डमा आफ्नो बाली सम्पादन गरेर फसाउन खोजिएको सुसाइट नोटमा उनले लेखेका छन्।
Shares

प्रतिक्रिया