समाज


साहित्यकार झमक घिमिरेको स्वास्थ्यमा समस्या

आमा भन्छिन्- मैले जन्माएँ, राष्ट्रकी छोरी हो राज्यले हेरोस्’
साहित्यकार झमक घिमिरेको स्वास्थ्यमा समस्या

नेपालखबर
फागुन १९, २०८१ सोमबार १४:४८, विराटनगर

साहित्यकार झमक घिमिरेमा स्वास्थ्य समस्या आउन थालेको एक वर्ष पुग्न लाग्यो। मस्तिष्क रोक (सेरेब्रल पाल्सी) को समस्या झेल्दै आएकी घिमिरेलाई बेलाबेला स्वास्थ्यमा समस्या बल्झिने गरेको नजिकबाट उनलाई नियाल्दै आएकाहरू बताउँछन्।

झमक घिमिरे साहित्य कला प्रतिष्ठान, नेपालका अध्यक्ष गोपाल गुरागाईँ पछिल्लो समय घिमिरेको स्वास्थ्यमा निरन्तर समस्या आउँदै गएको बताउँछन्।

‘विगत एक वर्षदेखि उहाँको स्वास्थ्यमा समस्या आउँदै गएको छ,’ गुरागाईँ भने, ‘मस्तिष्क रोग उहाँको जन्मसिद्ध समस्या हो, त्यही कहिले घट्ने कहिले बढ्ने भइरहेको छ।’ 

घिमिरेको समस्या भनेको पूर्ण हेरचाह गर्ने खालको भएको उनलाई नजिकबाट नियाल्दै आएकाहरू बताउँछन्। 

‘घिमिरेको शरीरका बायाँ पाउले मात्रै काम गर्छ। अन्य कुनै पनि कुरा चल्दैन। उनका मस्तिष्क तथा विचारहरू चल्छ, दृष्टिमा समस्या अहिलेसम्म छैन। श्रवण र दृश्य शक्ति छ, तर आवाज छैन,’  गुरागाईँले भने।

उमेर बढ्दै जाँदा मांसपेशीमा बढी असर देखिने गरेको उनको परिवारले बताउने गरेको छ। उनको स्वास्थ्य कमजोर हुँदै गएको छ।  

‘औषधि खाँदा काम गर्छ,’ गुरागाईँले भने, ‘कहिले ढाड, कहिले घाँटीमा समस्या आउने गरेको छ,  असाध्यै दुखाइको पीडा घिमिरेमा देखिएको छ।’

केही समयअघि काठमाडौँको टिचिङ अस्पतालमा उपचार गरेर फर्किएकी झमकको पछिल्लो एक हप्ताअघि विराटनगरको न्युरो अस्पतालमा फलोअप उपचार भएको छ।

उनले थपे, ‘उनको उपचार त्यति सजिलो भने छैन, हेरचाह गर्नको लागि नै न्यूनतम ३ जना आवश्यक पर्छ।  यात्रा गर्दा ४ जना अनिवार्य नभई हुँदैन।  घिमिरेको उपचारको लागि आकस्मिक नबसी नहुँदा मात्रै अस्पतालमा राख्ने वा बसाउने हो, नत्र घरबाट नै ल्याउने र लग्ने गरिन्छ। अहिलेसम्म अस्पतालमा बसेका छैनन्।’

केही दिन अघि उनकै घरमा भएको एक कार्यक्रममा झमककी आमा आशादेवी घिमिरेले एक पटक फलोअपमा जाँदा ३० हजार खर्च हुने गरेको सुनाएकी थिईन्। 

‘गाडीमा ल्याउने र लग्न, चेकजाँच र औषधिको लागि मात्रै त्यति खर्च लाग्छ,’ उनले भनिन्,  ‘हप्ता दिन १५ दिन वा महिना दिनमा एक पटक अनिवार्य फलोअपको लागि लग्नै पर्छ।’

झमककी आमाले भनेकी थिइन्, ‘मैले त जन्म दिएकी छोरी हो। हुर्काएँ बढाएँ तर अब उनी राष्ट्रकी छोरी हुन्। अब राज्यले पनि गर्नु छ।’

पछिल्लो समय उनको घाँटी र ढाडमा समस्या सहितको दुखाइ भएको छ ।

घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ कृतिले २०६८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। 

झमकलाई उनको स्वास्थ्यको बारेमा के कसो छ? भनी सोधिएको प्रश्नमा उनी म्यासेजमा लेख्छिन् , ‘आ, कस्तो हुनु? उस्तै त छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad