समाज


प्रहरी प्रधान कार्यालयमा ‘मौलोपूजा’

प्रहरी प्रधान कार्यालयमा ‘मौलोपूजा’

नेपालखबर
असोज २०, २०७६ सोमबार १५:२,

प्रहरी प्रधान कार्यालय नक्सालमा बडादशैँको अवसरमा परम्परागतरुपमा मनाउँदै आएको ‘मौलोपूजा’ गरिएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित पूजाअर्चना तथा संकल्प गरे। महानिरीक्षक खनालले बली पूजा गर्नुका साथै निसानमा पञ्जा छापसमेत लगाएका थिए।

महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरेका थिए। पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवम् महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ।

सङ्गठनको कार्यसम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीले विसं २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादशैैँ र चैतेदशैँमा निरन्तररुपमा मौलोपूजा गर्दै आइरहेको छ।

यसैगरी पोखरामा पनि आश्विन शुक्ल नवमी (महानवमी)को अवसरमा पोखरास्थित गण्डकी प्रदेश प्रहरी कार्यालय र अञ्चल सशस्त्र प्रहरी गुल्ममा आज मौलो पूजा गरिएको छ।

नेपाल प्रहरीले परम्परागतरुपमा प्राचीन कालदेखि मनाउदै आएको मौलो पूजा कार्यक्रमलाई निरन्तरता दिइएको हो।

उक्त अवसरमा कुविन्डो तथा वलि पूजाका साथै विभिन्न हातहतियारको समेत पूजा गरिएको थियो भने प्रहरीको एक टुकुडीले चारै दिशास्थित विभिन्न शक्तिपीठ एवम् देवी देवतालाई सलामी अर्पण गरिएको थियो।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले विजयादशमीको शुभकामना व्यक्त गर्दै नेपाल प्रहरी संगठनका सदस्य एवम् परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना गरे।

उनले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारबाट सम्मान गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .