आज (आइतबार) देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ।
गत साता यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले ५ असोजेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
विभागले भदौ २५ गतेबाट सर्वसाधारणका लागि दसैँका लागि घर जान अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको थियो।
तर व्यवसायीले त्यसमा असहमति देखाउँदै यस विषयमा पुनः छलफलको माग राखेका थिए।
सोहीअनुसार गत साता बिहीबारको बैठकले असोज ५ गतेदेखि टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो।
आइतबारबाट दसैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौँबाट बाहिरिने यात्रुको लागि टिकट बुकिङ खुलेको विभागका महानिर्देशक गोगनकुमार हमालले जानकारी दिए।
काठमाडौँको गंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, सुन्धारा, बल्खु लगायत १४ ठाउँबाट दसैँका लागि घर जान टिकट काट्न सकिने छ।
विभागले टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई पहिचान खुल्ने गरी पोशाक लगाउन समेत निर्देशन दिएको छ।
यात्रुलाई टिकट काट्न र यात्रा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गरिने विभागले जनाएको छ।
सहायता कक्षमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गर्ने विभागको तयारी छ।
टिकटमा हुने कालोबजारी रोक्न विभागका महानिर्देशक हमालको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन गरिएको छ।
यसैबीच चाडपर्वको बेला हुने सवारी दुर्घटना कम गर्न सवारीको यांन्त्रिक परीक्षणसमेत सुरु गएिको छ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी महासंघको सहकार्यमा सवारी साधनको यान्त्रिक परीक्षण गर्न लागिएको हो।

प्रतिक्रिया