समाज


पासाङल्हामु राजमार्ग बन्द भएपछि मानसरोवर यात्रा हेलिकप्टरबाट

पासाङल्हामु राजमार्ग बन्द भएपछि मानसरोवर यात्रा हेलिकप्टरबाट

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ५:१०,

रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेंसी जान थालेका छन्।

मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको राजमार्ग बन्द भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेंसी लान/ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन्।

काठमाडौं हेलिडे टूल्स एन्ड ट्राभल ठमेलका पथ प्रदर्शक कुन्दन क्षेत्रीका अनुसार मानसरोवर यात्राका लागि बुधबार ५५ गैरआवासीय नेपाली बोकी काठमाडौंबाट रसुवागढीका लागि छुटेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रुलाई सिम्रिक एयरको हेलिकप्टरद्वारा बिहीबार स्याफ्रुबेंसी लगिएको छ।

बुधबार अपराह्न भएको वर्षाका कारण कालिका गाउँपालिका–१ राम्चे, ग्राङबीच भिरनजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग अवरूद्ध भई अलपत्र परेका यात्रुलाई कार्यतालिका अनुरूप गन्तव्यतर्फ पठाउन सिम्रिक एयर कम्पनीले छिटोछरितो तवरले हेलिकप्टर उपलब्ध गराई उल्लेखनीय सहयोग गरेको उक्त ट्राभलले जनाएको छ।

ती गैरआवासीय नेपाली तीर्थयात्रुलाई नुवाकोटबाट स्याफ्रुबेँशी पु¥याउन सिम्रिक एयरले दुई वटा हेलिकप्टर प्रयोग गरेको र वरिष्ठ पाइलट सुरेन्द्र पौडेल र युवा पाइलट हरेराम थापाले उडान भरेको बताइएको छ।

हेलिकप्टरबाट लगिएका ती गैरआवासीय नेपाली यात्रु बिहीबार नै रसुवागढी नाकाबाट चिनियाँ भूभागमा प्रवेश गरिसकेको र उनीहरू ११ दिनको अन्तरालमा मानसरोवर कैलाशको यात्रा पूरा गरी काठमाडौं पुग्ने पथ प्रदर्शक क्षेत्रीले बताए।

सरासर लाँदा कैलाश पर्वत क्षेत्रमा लेक लाग्न सक्ने समस्या न्यूनीकरण गर्न सबै यात्रुलाई ठाउँठाउँमा बास बसाली आरामदायी यात्रा गराइने जनाइएको छ। यात्राका क्रममा स्याफ्रुबेंसी, टिमुरे र चिनियाँ भूभागको केरूङ एवं साझा भन्ने स्थानमा बास बसालेपछि ४ हजार ८०० मिटर उचाइको मानसरोवर पु¥याउने गरेको पथ प्रदर्शकले बताएका छन्।

चीनको भूभागमा अवस्थित मानसरोवर कैलाश यात्राका लागि हुम्लाबाट जान हिल्सासम्म हवाईमार्ग प्रयोग गर्नुपर्ने र रसुवागढी नाका प्रयोग गर्दा पूरै स्थलगतरूपमा जान सकिने भएकोले विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ।

अध्यागमन प्रमुख विष्णु घर्तीका अनुसार विसं २०७६ वैशाखदेखि हालसम्म १४ हजार ५०० तीर्थयात्रुले मानसरोवर कैलाश यात्रा सम्पन्न गरिसकेका छन्।

अब उच्च भागमा हिमपातको मौसम शुरू हुने बेला भएकाले मानसरोवर जाने मौसम अन्तिम हुन थालेको बताइएको छ । मानसरोवर कैलाश यात्राका लागि बढी मात्रामा भारतीय तीर्थयात्रु जाने गरेको अध्यागमन कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad