ad ad

समाज


गण्डकी प्रदेशमा डेंगु रोगी एक हजारभन्दा बढी

गण्डकी प्रदेशमा डेंगु रोगी एक हजारभन्दा बढी

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ८:३९,

गण्डकी प्रदेशमा डेंगु रोगीको संख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेंगुबाट संक्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए। ४१ दिनको अवधिमा सो संख्याका मानिस डेंगुबाट पीडित भएका हुन्।

सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो संख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो। सो रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिकरूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले जानकारी गराए।
एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने सो रोगबाट यस प्रदेशमा कसैको मृत्यु नभए पनि रोगीको संख्या वृद्धिले गर्दा सर्वसाधारणमा त्रासको वातावरण देखिएको छ। उक्त रोगलाई नियन्त्रण गर्नाका लागि पोखरा महानगरपालिकाले व्यापकरूपमा जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने कार्यलाई अभियानको रुपमा लिएको छ।

सो अभियानअन्तर्गत पोखरा महानगरपालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा घर–घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्ने उपायका साथै सोको बासस्थानलाई नष्ट गर्ने विषयमा जागरुकता फैलाउन कर्मचारीहरु खटाइसकेको छ।

डेङ्गु रोगको उपचारमा संलग्न रहेका डा भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा डेंगुको संक्रमण हुने देखिएकाले असोज महीनासम्म सो रोगको प्रभाव रहनसक्ने र यसबाट बच्नका लागि एडिस जातको लामखुट्टेको बासस्थानलाई नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने बताए। एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामका लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फूल पार्ने भएकाले त्यस्ता स्थानमा सफाइ गर्नुपर्ने हुन्छ।

उक्त जातको लामखुट्टे प्रायः दिउँसै टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगाले ढाक्नुपर्छ। डेङ्गु फैलाउने लामखुट्टे भुइँदेखि बढीमा तीन फिट माथिसम्म मात्र उड्न सक्ने भएकाले खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव छ।

डेंगुरोग लागेका बिरामीलाई जाडो हुनाका साथै उच्च ज्वरो आउने, जीउ तथा हाडजोर्नी बेस्सरी दुख्ने, प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अङ्गबाट रगत बग्ने चिकित्सकहरु बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .