समाज


वीर अस्पतालमा डेंगु रोगको परीक्षण शुरु

वीर अस्पतालमा डेंगु रोगको परीक्षण शुरु

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १५:३४,

काठमाडौं उपत्यकाभित्र डेंगु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ।

डेंगु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैँ खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिए। डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ। टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ।

वीर अस्पतालले पनि आजदेखि डेंगु रोगको परीक्षण शुरु गरेको छ। परीक्षण गर्ने कीट आफैँ खरीद गरी वीर अस्पतालले आजदेखि डेंगु परीक्षण शुरु गरेको हो। उनले भने, ‘डेंगुको आशङ्का गरेपछि थप परीक्षणका लागि टेकु पठाउथ्यौँ। टेकुले पनि धान्न सक्ने अवस्था देखिएन। बिरामीको सङ्ख्या बढ्न थाल्यो। भर्ना भएका बिरामीलाई पनि लक्षण देखिन थाल्यो। त्यसैले कीट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ।’

अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ। बिरामीको सुविधाका लागि अस्पतालले रु ५०० मा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। विसं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दाबढी जिल्लामा देखा परिसकेको छ। यसबाट मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखापरेको छ।

एकमात्र सरुवा रोग अस्पताल टेकुमा डेङ्गुको आशङ्कामा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सङ्ख्या दैनिकरुपमा अत्यधिक वृद्धि भएको छ। बिहीबार मात्र करीब ४०० को स्वास्थ्य परीक्षण गर्दा १२३ जनामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यरत चार जना चिकित्सकसहित अन्य ११ जना स्वास्थ्यकर्मी स्वयं डेङ्गु रोगको सङ्क्रमण भएका अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए। अस्पतालमा डेङ्गु रोगीका उपचार गर्न २४ श्यया मात्र रहेको छ। अस्पतालले थप २० श्यया थप गर्ने तयारी गर्दैछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad