समाज


एटीएम लुट्ने चिनियाँ समूहका ‘मास्टरमाइन्ड’ खाेज्दै प्रहरी

एटीएम लुट्ने चिनियाँ समूहका ‘मास्टरमाइन्ड’ खाेज्दै प्रहरी

दीपक खरेल
भदौ १५, २०७६ आइतबार ८:२९,

नेपाली बैंकका एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्दै गर्दा पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकले भिसाकार्ड सिष्टमकाे एउटा स्विच ह्याक गरेकाे खुलेकाे छ। अनुसन्धान अधिकारीहरूले स्विच ह्याक गर्ने व्यक्ति विदेशमा रहेकाे र यसमा नेपालीहरूकाे पनि संलग्नता हुनसक्ने बताएका छन्। 

अधिकारीहरूका अनुसार  भिसा सिष्टमले उपलब्ध गराएका चारमध्ये एउटा स्विच ह्याक भएकाे हाे। यसकाे अनुसन्धान प्रहरी, नेपाल राष्ट्र बैंक र पीडित बैंकहरूले समेत गरिररहेका छन्। 

प्रहरी अनुसन्धानमा  दुई समूहमा आठ जना चिनियाँ रकम झिक्नका लागि भरियाका रुपमा नेपाल भित्रिएको खुलेको छ। उनीहरू शुक्रबार काठमाडाैं भित्रिएका थिए।  काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘यसमा नेपाली नागरिक र अज्ञात स्थलमा बसेर निर्देशन दिने व्यक्तिको समेत संलग्नता रहेको आशंका गरेका छौँ।’

नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति प्रहरीले पाँच जनालाइ पक्राउ गरेकाे थियाे। पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीले जानकारी दिए।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान समेत बरामद गरेको छ।

पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने उनले बताए। उनीहरुलाई पाटन उच्च अदालत पेस गरी त्यहाँबाट ७ दिनकाे म्याद थप भएकाे छ। त्यस्तै उक्त घटनामा फरार तीन जनाको खोजी जारी रहेको काठमाडौं प्रहरीको भनाइ छ।

चिनियाँ नागरिकबाट सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले एटीएम सिस्टम डाउन गरेका थिए। प्रहरीका अनुसार चीनबाट शुक्रबार उनीहरु नेपाल आएका थिए। सोमबार र मंगलबार आलोपालो गरी चीन फिर्ता हुने उनीहरूकाे याेजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यसरी समातिएका थिए चिनियाँ ह्याकर

प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार शनिबार अपरान्ह ४ बजे प्रभु बैंकका एकजना वरिष्ठ अधिकारीले प्रहरीलाइ सूचना दिएका थिए।  विशेष सूचनापछि डीएसपी हाेविन्द्र बाेगटीकाे नेतृत्वमा टाेली परिचालन भएकाे थियाे। सूचना पच्छयाउदै गएकाे टाेलीले दरबारमार्गस्थित नबिल बैंककाे एटिएम बुथबाट  पैसा निकाल्दै गर्दा एकजनालाई पक्राउ गरेको हो। परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको विशेष टोलीले दरबारमार्गमा रहेको नबिल बैंकको एटीएम बुथबाट पैसा निकालिरहेको अवस्था झु लियांगांगलाई नियन्त्रणमा लिएपछि थप खुलेको थियो।

jhu liyangangदरवारमार्गमा नबिल बैंकको एटीएम बुथबाट पैसा निकाल्दै झु लियांगआंग।

झुको साथबाट २० थान नक्कली भिसाकार्ड फेला परेको थियो। उनी हात्तीसारमा रहेको माया मनोहर बुटिकमा बसेको खुलेपछि प्रहरीले बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ मा खानतलासी गरेको थियो। सो क्रममा अन्य चिनियाँ नागरिकले हतार हतार बुटिकको होटल लिफ्ट प्रयोग गरी भाग्न खोजेका थिए।

सो क्रममा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार योजनाबद्ध रुपमा आएका उनीहरुले १ सय ३२ थान नक्कली भिसाकार्ड प्रयोग गरी विभिन्न बैंकको डाटा ह्याक गरेर एटीएम बुथबाट रकम निकाल्दै आएका थिए।

सर्वसाधारण निक्षेपकर्ता आत्तिनु पर्दैन

यसैबीच नेपाल बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्ताले आत्तिनु नपर्ने जनाएकाे छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै ठूलाे क्षति नभएकाे बताउँदै सबै रकम बैंकले व्यहाेर्ने बताए। उनले भने, 'धेरै ठूलाे क्षति भएकाे छैन, आत्तिनुपर्दैन। नेपाल प्रहरीकाे पहलमा सबै समातिएका छन्।'

प्रहरीका अनुसार मालवेयर अट्याक मात्र भिसाकार्डमा इफेक्ट गरेर चारमध्ये एक स्विचबाट रकम निकालिएकाे छ। त्याे कुन स्विच हाे भन्ने अनुसन्धान भइरहेकाे एसएसपी सुवेदीले बताए। यता बैकर्स संघले बैंककाे पहलमा आइटीविद्हरुको एउटा टोली अनुसन्धानमा लागेको छ। संघका अध्यक्ष ढुंगानाले भने, 'याे नयाँ थ्रेट देखियाे। हामी साईबर सेक्युरिटीमा थप लगानी गर्नेछाैं।'

ह्याकरहरू बैंकहरुभन्दा दुई स्टेप अगाडि रहेकाे बताउँदै साेही अनुसार सुरक्षा प्रबन्ध गर्ने बताए। कुन स्विचमा अट्याक भएकाे छ, त्याे फरेन्सिक रिपाेर्टपछि थाह हुने प्रहरीले जनाएकाे छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ह्याकरले ५० बढी एटीएम काउन्टर प्रयाेग गरेकाे र १ कराेड ६८ लाख ५४ हजार ४२० रकम अहिलेसम्म निकालेकाे बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .