नेपालका वाणिज्य बैंकहरु लुट्न चिनियाँ गिरोहले योजनाबद्ध रुपमा काम गरिरहेको खुलेको छ। नेपालका बैंकहरुले प्रयोग गर्ने एटिएम मेसिन सफ्टवेयर चीनबाट ह्याक गरेसँगै ८ जना चिनियाँ नागरिक पैसा संकलन गर्न काठमाडौंमा परिचालन भएको प्रहरीले बताएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको भिसा कार्ड सिस्टममा अनाधिकृतक रुपमा समस्या सिर्जना गरिएको बताए।
‘बैंकहरुले एटिएम सिस्टममा अनाधिकृत रुपमा समस्या देखिएको जनाएका छन्। भिषा कार्ड प्रयोगकर्ताको हकमा त्यस्तो समस्या देखिएको छ’, प्रवक्ता निरौलाले नेपालखबरसँग भने,‘कुनै एक व्यक्तिले भिषा कार्ड प्रयोग गरेपछि समस्या उत्पन्न भएको देखिएको छ। त्यो कार्ड कहाँबाट कसले प्रयोग गरेको हो अनुसन्धान भइरहेको छ। केही समयपछि पहिचान हुन्छ।’
महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार राती पाँचजना चिनियाँ नागरिकलाई नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा नियन्त्रणमा लिएको थियो। उनीहरुसँगै आएका अन्य ३ जना फरार भएका छन्। सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले एटिएम सिस्टम डाउन गरेका छन्।
महानगरीय प्रहरी परिसर प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बैंकले प्रयोग गर्ने भिषा कार्डको सिस्टम नै ह्याक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
८ जना चिनियाँमध्ये फरार रहेका ३ जनाको खोजीका लागि प्रहरीले विमानस्थल र सीमा नाकामा सर्कुलर पठाएको छ। ‘बैंकका प्रतिनिधिहरु गुनासो लिएर आउनेक्रम जारी छ,’ डिएसपी बोगटीले भने ‘कुन बैंकबाट कति रकम निकालियो भन्ने यकिन रूपमा खुलेको छैन।’
प्रहरीका अनुसार चीनबाट शुक्रबार नेपाल आएका उनीहरु सोमबार र मंगलबार आलोपालो गरी चीन फिर्ता हुने योजनामा थिए।
यो पनि: काठमाडौंमा नबिल बैंकबाट पैसा चोर्दै गर्दा पाँच चिनियाँ पक्राउ
प्रतिक्रिया